चोरको समूहले सुरुङ बनाएर रौतहटको एक घरमा चोरी गरेका छन्। फतुवा विजयपुर नगरपालिका वडा नम्बर–६ पेटभर्वाका अच्छेलाल साहको घरमा चोरी भएको हो।
बुधबारको राति करिब १२ बजेको समयमा सुरुङ बनाइ घरमा प्रवेश गरेर चोरी गरेको स्थानीय राज किशोर साहले बताए। उनका अनुसार पाँच वटा मोबाइल गरगहना र नगद दुई लाख गरी करिब पाँच लाख बराबरको चोरी भएको छ।
गाउँको युवाहरूले चोरी भएको मोबाइलको आधारमा खोजी गर्दै जाँदा फतुवा गाउँको मठको नजिक चार वटा चोर फेला परेको उनले जानकारी दिए।
चोरी भएको मोबाइलहरू र गरगहना र रकम त्यहीबाट बरामद भएपछि युवाहरूले इलाका प्रहरी कार्यालय विजयपुर बुझाएका छन्।
केही दिन अघि पेटभर्वा गाउँकै चार वटा घरमा चोरी भएको थियो। प्रहरीले दिएको जानकारी अनुसार पक्राउ परेकाको बारेमा अनुसन्धान भइरहेको छ।