मोरङको सुन्दरहरैँचास्थित इन्द्रपुर जेसिजको २३ औँ तथा इन्द्रपुर जुनियर जेसिजको ७ औँ पदस्थापन समारोह सम्पन्न भएको छ।

बुधवार विराटचोकमा रहेको नेपालीरिका होटलमा भएको पदस्थापन कार्यक्रमकाबीच इन्द्रपुर जेसिज वर्ष २०२४ का अध्यक्ष उत्सव थापाले वर्ष २०२५ का अध्यक्ष आकाश दुलाललाई चेन सहित जेसिजको पदभार हस्तान्तरण गरेका थिए।

त्यसैगरी, जुनियर जेसिज वर्ष २०२४ का अध्यक्ष मदन भण्डारीले वर्ष २०२५ का अध्यक्ष आयुश अधिकारीलाई पदभार हस्तान्तरण गरेका थिए।

कार्यक्रमको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकाल, विशिष्ट अतिथि सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँ, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष अशोक शङ्कर, भोलेश्वर दुलाल रहनुभएको थियो।

पदस्थापन कार्यक्रममा इन्द्रपुर जेसिज वर्ष २०२५ का अध्यक्ष आकाश दुलालले आफ्नो कार्यकालमा नेतृत्व तथा व्यक्तित्व विकासमा मद्दत पुग्ने गतिविधिहरूलाई प्राथमिकतामा राखेर जेसिजको आस्था र विश्वास अनुसार काम गर्ने उल्लेख गर्नुभयो।

यसै कार्यक्रममा विभिन्न व्यक्तिले स्थापना गरेको पुरस्कारबाट समाजमा विशेष योगदान पुर्‍याउने व्यक्तिलाई सम्मानित गरिएको थियो। जसमा महिला सशक्तीकरण संयोजकतर्फ नरदेवी अवार्ड जेसी बबिता दाहाललाई प्रदान गरिएको छ। यो अवार्ड पूर्व अध्यक्ष नारायण कार्कीले स्थापना गर्नुभएको हो। यस्तै, पूर्व अध्यक्ष शिवप्रसाद, शारदाप्रसाद र यज्ञप्रसाद ढकालले स्थापना गरेको कृष्ण विन्दा आउटस्टेन्डिङ अवार्ड जनसम्पर्क अधिकारी दिवस रिजाललाई प्रदान गरिएको छ।

कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याउने गौरव घिमिरेलाई पूर्व अध्यक्ष हेमचन्द्र घिमिरेले स्थापना गरेको शिवप्रसाद घिमिरे स्मृति अवार्ड प्रदान गरिएको छ। रमेश खड्काले स्थापना गरेको डि रत्न स्मृति अवार्ड शिखरबास खबरका सम्पादक खेमचन्द्र अधिकारीलाई प्रदान गरिएको छ। त्यसैगरी, छात्रवृत्ति पुरस्कार जनता मावि बुधबारेमा कक्षा ९ मा पढ्ने अभिषेक विश्वकर्मालाई रामकृष्ण खड्काले स्थापना गरेको मातृका खड्का स्मृति प्रदान गरिएको छ र पूर्व अध्यक्ष रोहितकुमार शाहले स्थापना गरेको रामप्रसाद साहु उत्कृष्ट जुनियर जेसी अवार्ड आशिष सुन्दासलाई प्रदान गरिएको छ।