नेकपा एमालेले केपी ओलीमाथि भीम रावलले लगाएको आरोप पुष्पकमल दाहाल प्रचण्डले लगाएको १९ बुँदे आरोपको ‘कपी पेस्ट’मात्र भएको जनाएको छ।
बिहीबार च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले २०७७ साल कात्तिकमा यी नै भाषामा प्रचण्डले १९ पेजको आरोप लगाएको भन्दै त्यही आरोपको कपी पेस्ट मात्र नेता रावलले लगाएको बताए।
उनले भने,‘२०७७ साल कात्तिकमा लगभग यिनै भाषामा प्रचण्डले १९ पेजको आरोप लगाउनु भएको थियो। एक किसिमले कपी पेस्ट हो। त्यसले उहाँभित्र कति नकारात्मक कुराले भरिएको प्रष्ट भएको छ। गालीगलौजले देश बन्ने भए एक जमानामा प्रचण्ड र बाबुराम भट्टराईको डिक्स्नेरीमा भएका शब्द खोजी खोजी गाली गर्नुहुन्थ्यो। रवि लामिछानेजीहरू त्यसैगरी नै उदाउनुभयो। गालीगलौजले देश बन्दैन।’
त्यस्तै,उनले रावलले ३१ पृष्ठको दस्ताबेजमा ३० पृष्ठ एक प्यारा गालीगलौज अनि पौने प्यारा अभियान चलाउँछु भनिसकेपछि पार्टीमा कुनै छलफल गरिरहनुपर्ने गम्भीर विषय नरहेको पनि बताए।
उनले भने,‘३१ पृष्ठको दस्ताबेजमा ३० पृष्ठ एक प्यारा गालीगलौज अनि पौने प्यारा अभियान चलाउँछु भनिसकेपछि कुनै छलफल गरिरहनुपर्ने गम्भीर विषय लागेन। अपेक्षित नै हो यो। पार्टी त्यही कारण उहाँको सदस्यता कायम नरहने निष्कर्षमा पुगेको हो।’