सरिना जी ट्रेड प्रा.लि.ले नेपाल ल्याएको नयाँ विद्युतीय ट्याक्सी ईभीईजीको बुकिङ खुला भएको छ।
जेएमईभी ब्रान्डको उक्त ट्याक्सीलाई ४१ लाख ५० हजार रुपैयाँ पर्ने र १ लाख १ हजार रुपैयाँ भुक्तानी गरे बुकिङ गर्न सकिने जनाइएको छ। बिहीबार एक कार्यक्रम आयोजना गरी कम्पनीले यसबारे जानकारी दिएको हो।
जेएमईभीको सेडान कार जीएसईलाई हालै जगदम्बा मोटर्स अन्तर्गतको शौर्य अटोमोबाइल्सले लन्च गरेको थियो। लगत्तै अर्को कम्पनीले यसको ट्याक्सी भर्सन नेपाल ल्याएको हो। नयाँ ईभी ट्याक्सी नेपाल आएसँगै यसको सिधा प्रतिस्पर्धा टाट एक्सप्रेस टी सँग हुनेछ।
इभीईजी ट्याक्सीमा ४९ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ। सिङ्गल चार्जमा यसले ४३० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। यसको अधिकतम टर्क २२५ एनएम तथा पावर १३४.६ पिएस छ।
एसी र डिसी दुवै चार्जर सपोर्ट गर्ने यस ईभीलाई डिसी फास्ट चार्जरको सहायतामा ३० मिनेटभित्रै ३० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। साथै, एसी चार्जरले नौं घण्टा र डिसी चार्जरले एक घण्टा १५ मिनेटमा फुल चार्ज गर्न मिल्छ। कम्पनीले यसको ब्याट्रीमा आठ वर्ष अर्थात् एक लाख ५० हजार र मोटरमा तीन वर्ष अर्थात् ६० हजार किलोमिटर वारेन्टी दिएको छ।
यस ट्याक्सीको लम्बाई ४६७५ एमएम, चौडाइ १८३५ एमएम र उचाइ १४८० एमएम तथा ह्विलवेश २७५० एमएम छ, भने ग्राउन्ड क्लिरियन्स १७० एमएम दिइएको छ। साथै यसमा फ्रन्ट ह्विल ड्राइभ सिस्टम उपलब्ध गराइएको छ।
आधुनिक डिजाइन दिएर आकर्षक लुक्समा तयार पारिएको यस ट्याक्सीमा डुअल जोन एसी, रिजेनेरिटिभ ब्रेकिङ, तीन वटा ड्राइभ मोड, प्रोजेक्टर हेड ल्याम्प, किलेस इन्ट्रि, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर राखिएको छ।
साथै, यसमा क्रुज कन्ट्रोल, इलेक्ट्रिक पार्किङ ब्रेक, टायर प्रेसर मनिटर सिस्टम, ४१० लिटरको बुट स्पेस, कोलिजन सेन्सिङ अटोमेटिक अनलक, मल्टी फंक्सन स्टेरिङ ह्विल, आईपी ६७ वाटर प्रुफ ब्याट्री प्याक र थ्री–वे ड्राइभर एन्ड प्यासेन्जर सिट एड्जस्टमेन्ट जस्ता विशेषता छन्।
सेप्टी फिचर अन्तर्गत यसमा दुई वटा एयर ब्याग, ई बिडी ब्रेकिङ सिस्टमसहितको एबिएस, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल, रियर पार्किङ सेन्सर र एन्टि पिन्च विन्डो ग्लासलगायत छन्।