क्यान्सर रोगबाट पीडित गायिका इन्दिरा गोले गुरुङलाई पोर्चुगलबाट आर्थिक सहयोग गरिएको छ।
नेपाल राष्ट्रिय तामाङ घेदुङ (सङ्घ) पोर्चुगलले रकम सङ्कलन गरेर गायिका गोलेको उपचार सहयोगार्थ आर्थिक सहयोग गरेको हो।
घेदुङले पोर्चुगलमा सञ्चालन गरेको आर्थिक सहयोग अभियान अन्तर्गत सङ्कलित दुई हजार तीन सय ४५ युरो अर्थात् रु.तीन लाख ३२ हजार पाँच सय ७९ नगद रकम पीडित गोलेलाई उपलब्ध गराएको हो।
सहयोग रकम ‘इन्दिरा गोले बचाउ अभियान’ का संयोजक योगेश लामा र नेपाल तामाङ कलाकार सङ्घका अध्यक्ष विशाल काल्तेनमार्फत गोलेलाई हस्तान्तरण गरिएको नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलका अध्यक्ष इमानसिंह तामाङले जानकारी दिए। पीडित गोलेको आर्थिक अवस्था कमजोर रहेको र उनको उपचारमा थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सङ्कलन गरेर सहयोग रकम नेपाल पठाइएको तामाङले बताए।
पीडित गोलेको उपचार सहयोगार्थ नेपाल तामाङ कलाकार सङ्घको संयोजकत्वमा ‘इन्दिरा गोले बचाउ अभियान’ सञ्चालन गरेर स्वदेश तथा विदेशमा आर्थिक सहयोग सङ्कलन गरिएको थियो। विगत दुई वर्षदेखि क्यान्सर रोगसँग लडिरहेकी गोले हाल उपचाररत छिन्। 
लामो समयदेखि साङ्गीतिक क्षेत्रमा समर्पित रहँदै आएकी गायिका गोलेले तामाङ सेलो र नेपाली लोक तथा दोहोरी गीतहरूमा स्वर दिएकी छन्।