रौतहट प्रहरीले एकै दिन ३२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। विभिन्न समयमा अपराधिक क्रियाकलाप गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार एकै दिनमा जिल्लाको विभिन्न ठाउँबाट लुकिछिपी बसेको अवस्थामा गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ हुनेहरूमा सवारी ज्यान मुद्दाका ८ जना, चेक अनादर मुद्दामा ६ जना, अभद्र व्यवहारका ६ जना, बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने ४ जना, कुटपिटमा ३ जना, गाली बेईजतीमा ३ जना, लेनदेन बिगोमा १ जना र नापतौल कसुरका आरोपी १ जना गरी ३२ जना फरार प्रतिवादी पक्राउ गरिएको उनले जानकारी दिए। पक्राउ परेकामध्ये सबैभन्दा बढी सवारी ज्यान कसुर सम्बन्धी मुद्दाका आरोपी रहेको उनको भनाइ छ। पक्राउ परेका ३२ जनालाई फैसला कार्यान्वयनको लागी जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको प्रवक्ता रायले बताए।
उनीहरूबाट जरिबाना स्वरूप करिब ६५ हजार रुपैयाँ र ६ महिना कैद असुल गरिनुपर्ने देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
Photo (2) 2
Photo (1) 1