नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले ठुला भनिएका दलहरू सिद्धान्तहीन बन्दै गइरहेको बताएका छन्। 
उनले बुधवार पत्रकार सम्मेलन गर्दै ठुला दलहरू गन्तव्यहीन, आर्दशहिन बाटोतर्फ गइरहेको बताएका हुन्।
उनले भने, ‘ठुला भनिएका दलहरू सिद्धान्तहीन, गन्तव्यहीन र आर्दशहिन बाटोमा लागेका छन्। जसरी जो सँग भएर मिलेर  पनि पद, हत्याउने होडबाजी चलिरहेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध कूटनीति अत्यन्त फितलो र लज्जास्पद बनाइएको छ।’
यसै गरी उनले असमान सन्धि सम्झौताको भारी निरन्तर बढ्दै गैइरहको बताए। उनले राष्ट्रिय सम्पत्ति र सीमा धेरै नै असुरक्षित बनिरहेको पनि बताए।
उनले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा अ‍ोली सत्ताको दुरुपयोग गरेर तानासाह बन्न खोजेको आरोप लगाएका छन्। उनले आफूले पाँच दशकसम्म काम गरेको एमालेमा केपी ओलीबाट भएको क्रियाकलापको विरोध गरेको स्मरण गराए। उनले देश र जनताको सर्वोपरि हितको लागि आफू वैकल्पिक बाटो हिँड्न बाध्य भएको बताए।
उनले भने , ‘सत्तामा हालीमुहाली गर्ने भनिएकाहरू नै हस्तक्षेप गर्ने उपकरण बनेका छन्, भाडाका सिपाही, श्रमिक, सुसारे, सेवक भएर विदेशमा पसिना बगाउन थुप्रै नेपाली बाध्य भइरहेका छन्।’
उनले एमालेमा विभाजन गर्न खोज्नेहरूलाई मात्रै ओलीले अवसर दिएको तर पार्टी बनाउनेहरूलाई सदस्यबाट निकाल्ने काम गरेको भन्दै आक्रोश पोखे । उनले आफूलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय केपी ओलीले आफूप्रति गरेको चरम प्रतिशोध भएको स्पष्ट पारे।
उनले भने, ‘मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएकाहरू भ्रष्ट, अनैतिक, बिचौलिया र दलालहरूसँग साँठगाँठ गरी केपी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको भनेर पत्याइदिनुपर्ने हो र ?’
साथै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश पोख्दै झुटा कुरामा लत बसेको आरोप लगाए।