नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विधि र नीतिमा नेपाली काँग्रेस अडिग रहेको बताएका छन्।
नुवाकोटको पञ्चकन्या–४ घ्याङस्वारामा नेपाल तरुण दल, नुवाकोट क्षेत्र नं १ को आयोजनामा ‘नेपाली कांग्रेसको एक सय दिने कार्यक्रम’ अन्तर्गत प्रशिक्षण कार्यक्रममा उनले पार्टी स्थापना गर्ने संस्थापक नेताहरूको त्याग र योगदानबाट सिर्जित विधि र नीतिले मुलुकको विश्वासिलो र भरपर्दो पार्टीको छवि कायम राख्न काँग्रेस सफल हुँदै आएको बताएका हुन्।
प्रवक्ता डा. महतले नेतृत्वलाई प्रश्न उठाएकै कारण अन्य पार्टीमा कारबाही, निलम्बन र निष्कासन हुने गरेको भन्दै वाक–स्वतन्त्रता, लोकतान्त्रिक पद्धतिको अभ्यास, विधिको शासन, नीति प्रधान भएकै कारण आफ्नो पार्टीमा सो समस्या नरहेको उनको दाबी थियो। सो अवसरमा डा। महतले आगामी २०८४ सालको चुनाव नुवाकोटबाट लड्ने घोषणा गरेका छन्। उनले भने, ’म ०८४ सालको चुनाव यही (नुवाकोट) बाटै लड्छु।’
प्रशिक्षणमा प्रतिनिधिसभा सदस्य सीता मिजार, काँग्रेस नुवाकोट सभापति रमेशकुमार महत, नेता डा केदार नरसिंह केसी, काँग्रेस बागमती प्रदेश कार्यसमितिका प्रवक्ता तिलक रुवाली, रसुवा सभापति प्रभात तामाङ, तरुण दल १ नंं क्षेत्रीय अध्यक्ष शरण घलेलगायतले पार्टीमा युवाको सहभागिताका लागि भातृ संस्थालाई चलायमान बनाउनुपर्ने बताए।