वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 
पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका २५ घर भई काठमाडौँ टोखा नगरपालिका ६ बस्ने ३० वर्षीय मधु तिमल्सिना अधिकारी, रुपन्देही देव दह नगरपालिका १२ घर भई काठमाडौँ महानगरपालिका २८ बस्ने ३२ वर्षीया गीता कुँवर र काठमाडौँ महानगरपालिका बागबजारस्थित ग्लोबल एक्सेल अपस्किल एण्ड स्टडी इन्फो सेन्टरका सञ्चालिका सिराहा, सिराहा नगरपालिका ७ घर भई काठमाडौँ महानगरपालिका २२ बस्ने ३० वर्षीया दिव्या यादव रहेका छन्। 
पक्राउ मध्ये मधुले रोमानिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रुपैयाँ, गीताले युके पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट १६ लाख ५ हजार रुपैयाँ र दिव्याले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख १५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले मधुलाई काठमाडौँ टोखा नगरपालिका ६ बाट र गीतालाई काठमाडौँ महानगरपालिका २८ बाट मङ्गलवार तथा दिव्यालाई काठमाडौँ न्यूरोडबाट सोमबार पक्राउ गरेको हो।  
पक्राउ मध्ये मधु र गीतालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ र दिव्यालाई जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको छ।