रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ पाखागाउँमा गएराति अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
लुम्बिनी प्रदेश ०२००१ ह ०३५० नं.को अटो मध्यपहाडी सडकको पाखागाउँबाट रुकुमकोट आउँदै गर्दा परेको दुर्घटनामा सिस्ने–६ खोपिचारकी १२ वर्षीय बालिका विष्णु बुढामगरको मृत्यु भएको हो।
दुर्घटनामा घाइते हुनेमा सिस्ने गाउँपालिका–६ का १६ वर्षीय महेन्द्र बुढा मगर, सोही वडाकै १४ वर्षीय सुशीला बुढामगर, ११ वर्षीय सुस्मिता बुढामगर र अटोचालक सिस्ने गाउँपालिका–५ का ४० वर्षीय टोपबहादुर कार्की रहेका छन्।
गम्भीर अवस्था रहेका १६ वर्षीय महेन्द्रलाई थप उपचारका लागि नेपालगञ्ज पठाएको छ। अन्य तीनजनाको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको छ। अटो अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।