स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जनसङ्ख्या नीतिले नै सम्पूर्ण योजनाको आधार निर्माण गर्ने बताएका छन्। 
बुधवार राष्ट्रिय जनसङ्ख्या नीति मस्यौदा सम्बन्धमा सरोकारवालाहरुसँग छलफल कार्यक्रममा बोल्दै उनले जनसङ्ख्या प्राथमिकतामा मात्र नभई प्रमुख प्राथमिकतामा पर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘खास गरी जनसङ्ख्या नीतिले नै सम्पूर्ण योजनाको आधार निर्माण गर्छ। त्यसैले जनसङ्ख्या प्राथमिकता होइन प्रमुख प्राथमिकतामा पर्नुपर्ने विषय हो। स्वास्थ्य तथा जनसङ्ख्या भन्दा त ५० प्रतिशत  स्वास्थ्य र ५० प्रतिशत जनसङ्ख्या बुझ्नुपर्ने हो। तर हाम्रो मन्त्रालयमा जम्मा ११ जना विभागमा हुनुहुन्छ। ११ जना पनि खासै विज्ञ लिने त्यसको अतिरिक्त योग्यतामा भएका मात्र राख्ने भन्ने छैन।’
साथै उनले नेपालको सबै जनसङ्ख्या सम्बन्धी काम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्नुपर्ने हो या स्वास्थ्यसँग जोडिने तर जनसङ्ख्याको  विषयको  काम मात्र गर्नुपर्ने हो यो  छुट्ट्याउन आवश्यक रहेको बताए।
उनले नेपालको सबै जनसङ्ख्याको काम तथ्याङ्क विभागले गर्नुपर्ने र त्यसमा विश्वविद्यालयका डिपाटमेण्टहरु जोडिनुपर्‍यो, राज्यका जति पनि जनसङ्ख्या सम्बन्धी मेकानिजम छ त्यो सबै एक ठाउँमा जोडिनुपर्ने बताए।