बाराको गढीमाई मन्दिरको दर्शन गरेर सिरहा फर्कंदै गरेका तीर्थयात्री सवार बा१६च ३१६२ नम्बरको जीप रौतहटमा दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ। पाँचजना घाइते छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको लमाहामा गत राती जीप दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए।
जीप अनियन्त्रित भई रुखमा ठोक्किएको थियो। दुर्घटनामा परी सिरहाको अर्नामा नगरपालिका–३, बंठिया टोलका रामकुमारीदेवी महरा, रामकुमारी महरा, सकुन्तलादेवी महरा, उर्मिला महरा, लरुवतीदेवी महरा, महगीदेवी महरा, फूलमन्तीदेवी चमार र चालक श्रीकुमार यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए। चन्द्रनिगाहपुर अस्पतालमा मृतकको सनाखत गरिएको हो।
दुर्घटनामा घाइते भएका राधा राम, आर्यन राम, देवकुमारी महरा, रितिक महरा र कन्यादेवी महरालाई उपचारका निम्ति पर्साको वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ।