बिकिन जोशी र सर्मिला शाह राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
नेपाली युथ फिटनेस एण्ड केलिसेनिक्सको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ बिकिन र महिलातर्फ सर्मिला सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन्। सर्वोत्कृष्ट घोषित दुवै खेलाडीले ट्रफी, मेडल सहित जनही ५० हजार रुपैयाँ प्राप्त गरे।
खुल्ला पुरुष, महिला र जुयिनर गरी ३ विधा अन्तर्गत ११ वटा तौल समूहलाई प्रतियोगितामा समावेश गरिएको थियो। पुरुष ६२ केजी तौल समूहमा निमेष चुकान पहिलो, दिनेश सिख्राकर दोस्रो र किरण सुवाल तेस्रो भए।
पुरुष ६२ दशमलव १ केजीदेखि ६९ केजी तौल समूहमा बिकिन जोशी पहिलो, बिक्रम थापा दोस्रो र निखिल तामाङ तेस्रो भए। पुरुषकै ६९ दशमलव १ केजीदेखि ७७ केजी तौल समूहमा विकेस श्रेष्ठ पहिलो, सहज रन्जित दोस्रो र दिपेश श्रेष्ठ तेस्रो बने। ७७ दशमलव १ केजीदेखि ८५ केजी तौल समूहमा ओजस जोशी पहिलो, राजिब श्रेष्ठ दोस्रो र उम्बल तामाङ तेस्रो भए भने ८५ केजीमाथिको तौल समूहमा मनोज श्रेष्ठ पहिलो, सुजित अराले दोस्रो र युदिष्ठिर सिप्र घिमिरे तेस्रो भए।
महिलातर्फ ५८ केजी तौल समूहमा सबिता ह्यान्जु पहिलो, तारा खाइनु दोस्रो र झरना योन्जन तेस्रो भईन्। महिला ५८ दशमलव १ केजीदेखि ६४ केजी तौल समूहमा ज्योती थापा पहिलो, पुनम बोम्जन दोस्रो र पुनम चौधरी तेस्रो भईन्। महिला ६४ केजीमाथिको तौल समूहमा सर्मिला शाह पहिलो, अल्बिना राजयना दोस्रो र कृपा रसाईली तेस्रो भईन्। जुनियर २१ वर्ष मुनिको उमेर समूहमा राजिव खड्का पहिलो, आकृत बाँनिया दोस्रो र दिपेश बोहराले तेस्रो स्थान हासिल गरे।
पुरुष, महिला र जुनियर विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले ट्रफी, मेडल सहित क्रमश २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे।

नेपाल युथ फिटनेस एण्ड केलिसथेनिक्सका संस्थापक सुकदेव कार्कीको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगिताको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका थिए। नेपालमा पावरलिफ्टिङ खेलको उत्थान र विकासको उद्धेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको संस्थापक सुकदेव कार्कीले बताए।