खानेपानी मन्त्री प्रदीप यादवले जलश्रोतको दोस्रो धनी देश भनेर चिनिने नेपालमा खाने पानीको लागि जनताले आन्दोलन गर्नुपर्ने अवस्था दुखद रहेको बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालको चौथो अधिवेशन सहितको छैठौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले, सुरक्षित खानेपानी आपूर्ति र सरफाईले आर्थिक उन्नतिको जग निर्माण गर्ने भएतापनि अझै खानेपानी तथा सरसफाइको क्षेत्रमा चुनौतीहरु रहेको बताए।
उनले भने,‘नेपालको आर्थिक सामाजिक विकासमा खोनपानी र सरसफाई क्षेत्रको महत्त्व हामी सबैलाई अवगत नै छ। सुरक्षित खानेपानी आपूर्ति र सरफाईले आर्थिक उन्ननीको जग निर्माण गर्दछ। तर अझै खानेपानी तथा सरसफाइको क्षेत्रमा केही चुनौतीहरु यथावत् नै छ। जलश्रोतको धनी देश नेपाल भनेर गौरव गछौं तर जनता पानीको लागि आन्दोलन गर्छन् ।’
उनले खानेपानी तथा सरसफाइको क्षेत्रमा नयाँ सोच र दृष्टिकोणकासाथ अगाडी बढ्ने मार्गचित्र महासङ्घले तयार गरिरहेकोमा धन्यवाद दिए।
मन्त्रालय एक्लैले मात्र खानेपानीको समस्या समाधान गर्न नसक्ने भन्दै महासङ्घ र मन्त्रालयको सहकार्यमा खानेपानीको आपूर्ति गर्न सफल हुने उनको भनाई छ।