विश्वमै खेलकुदलाई आर्थिक वृद्धि र पर्यटन विकासको ठुलो माध्यमको रूपमा हेर्ने गरिन्छ। छिमेकी देश भारतमा हुने आईपीएल नेपालका लागि झन् बलियो उदाहरण हो। मुलुकको अर्थतन्त्रमा खेलकुद प्रतियोगिताहरुको ठुलो प्रभाव रहने गरेको पाइन्छ।
कीर्तिपुरको टियू खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा ठुला व्यापारिक घराना र वित्तीय संस्थाहरुले ठुलो लगानी गरिरहेका छन्। विज्ञापन बजार चम्किएको छ। त्यसै खेल मैदान परिसरमा फुटपाथ र चिया नास्ताको व्यापारले सामान्य नागरिकहरुको व्यापार उसैगरी मौलाएको छ।
मङ्सिर १७ बाट सुरु भएको एनपीएलले साना तथा मझौला व्यवसायीहरुलाई राहत मिलेको छ। एनपीएलले भरिएको टीयू क्रिकेट मैदानमा मानिसहरुको ध्यान त्यहाँ सञ्चालन भएका खुद्रा पसलले उसैगरी खिचेको छ। क्रिकेट मैदान परिसरमा एनपीएल सुरु भएकै दिनदेखि चिया–चुरोट, चाउमिन–मःम, मिठाइ, बिस्कुट, चाउचाउ, पानी, जुसलगायतका खुद्रा पसलहरुमा व्यापार मौलाएको छ। 
अघिपछि ग्राहक नपाएरमा सडक पेटीमा घण्टौँ प्रतीक्षा गर्ने सबै फुटपाथ व्यापारीहरु अहिले क्रिकेट मैदानमा भेटिने गरेका छन्। उनीहरुलाई भ्याई नभ्याई छ। उपभोक्ताहरुको थामिनसक्नु भीड छ। जाडो याम समेत भएकाले चिया, चुरोट र तातो खाजाको व्यापार खुबै चम्किएको छ । 
क्रिकेट मैदान परिसरमा मःम बेच्दै आएका दुर्गा सापकोटा कोभिडले थलिएको व्यापारलाई राहत पुगेको बताउँछन्। उनी भन्छन्, ‘एनपीएलबाट एकदम खुसी छु। विदेशी खेलाडीहरु पनि हुनुहुन्छ। अपेक्षा अनुसारकै व्यापार भइरहेको छ। मान्छेहरुको भीड दिनहुँ बढिरहेको छ। कोरानाले आपत् परेका होटल व्यवसायीहरुलाई यहाँ व्यापार गर्न दिनु नै ठुलो कुरा हो। राहत मिलेको छ,’ उनले भने। सापकोटाले दैनिक सरदरमा एक सय पचासदेखि दुई सय प्लेटसम्म मःम बेचिरहेका छन्। 
क्रिकेट मैदानमै मट्का चिया बेचिरहेका छन्, कक्षा १२ मा पढ्ने भक्तिराज गिरी। गिरीले दैनिक १५ देखि २० हजार रुपैयाँसम्मको मट्का चिया बेचिरहेका छन्। उनी भन्छन्, ‘बिहानदेखि साँझसम्म राम्रोसँग व्यापार गर्‍यो भने दैनिक १५ देखि २० हजार रुपैयाँसम्मको बिक्री हुन्छ। व्यापार सोचे जस्तै भएको छ। एनपीएललले नाफा गराएको छ। मलाई मात्रै होइन सबैलाई राम्रो भएको छ।’
अघिपछि नेपाल प्रहरी, नेपाल आर्मीको कार्यालय अगाडि बसेर फुटपाथ व्यापार गर्दै आएकी मञ्जु तामाङ महर्जन व्यापार ठिकै भएको सुनाउँछिन्। ‘बदाम, चाउचाउ, पानी, चुइगम्म, चकलेटलगायत बेचिरहेको छु। व्यापार ठिकै छ। अहिले सरदरमा दैनिक सय रुपैयाँ सम्मको व्यापार हुन्छ,’ उनले भनिन्।  
हुम्लाका गोपाल जेठरा आइतबारदेखि शुक्रवारसम्म अन्य काम गर्छन्। तर एनपीएल सुरु भएदेखि उनी शनिवार–शनिवार टीयू मैदानमा बदाम, पानी बेचिरहेका छन्। उनी भन्छन्, ‘शनिवार मात्रै बेच्छु म चाहिँ। अरू दिन अफिस जान पछ्र्र। व्यापार राम्रै छ। सामान्य खर्च जुटेको छ।’
ह्यापीडेन्ट चुइन्गमको दैनिक दुईदेखि तीन हजारसम्मको व्यापार गरिरहेकी विनीता निरौला स्टल नै राखेर राम्रो आम्दानी गरिरहेको सुनाउँछिन्। उनी भन्छिन्,‘हाम्रो सेल्स राम्रै छ। दैनिक दुई देखि तीन हजारसम्मको व्यापार भइरहेको छ।’
एनपीएलले क्रिकेटसँगै व्यापार व्यवसाय पनि चलायमान बनाउन आयोजक क्यानले बताउँदै आएको थियो। एनपीएलबाट एक अर्बको अर्थतन्त्र चलायमान बनाउने आकलन पनि गरिएको छ।