श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट व्यवस्थापन गर्ने प्रतिष्ठानहरुलाई सम्मान गरेका छन्। शुक्रवार पत्रकार सम्मेलन गर्दै मन्त्री भण्डारीले सात वटा उद्योग/प्रतिष्ठानहरुलाई सम्मानित गरेका हुन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मर्यादित श्रमको अवधारणा बमोजिम श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी अधिकार सुनिश्चित गर्न श्रम ऐन, २०७४ र श्रम नियमावली, २०७५ मा यस सम्बन्धी नीतिगत व्यवस्था गरेको समेत जनाएको छ।
शुक्रवार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनद्वारा पारित व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी महासन्धि नं. १५५ तथा अन्य क्षेत्रगत कानुनले मार्गदर्शन गरे बमोजिम श्रमिकहरुको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रत्याभूत गर्ने उद्देश्यले राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति, २०७६ जारी गरिएको जनाएको हो।
यसैगरी व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी ध्वनी र प्रकाश मापदण्डहरु, २०७४, इँटा उद्योगमा काम गर्ने श्रमिकहरुका लागि व्यवसायजन्य सुरक्षा एवम् स्वास्थ्य सम्बन्धी निर्देशिका २०७४ जस्ता क्षेत्रगत मापदण्ड र निर्देशिकाहरु समेत कार्यान्वयनमा रहेको जनाएको छ।
कार्यस्थलमा श्रमिकहरूको शारीरिक, मानसिक र सामाजिक कल्याणको संरक्षण र प्रवर्द्धन गर्दै कार्यस्थलमा हुने दुर्घटनाहरू, स्वास्थ्य जोखिमहरू र कार्य प्रणालीका कारण उत्पन्न हुने समस्याहरूबाट श्रमिकहरूलाई बचाउने उद्देश्यले विभाग तथा मातहत कार्यालयहरुले प्रवर्द्धनात्मक, निरोधात्मक एवम् उपचारात्मक कार्यहरु गर्दै आइरहेको समेत मन्त्रालयले जनाएको छ।
यसै सन्दर्भमा प्रवर्द्धनात्मक कार्य अन्तर्गत आन्तरिक श्रम बजारमा कार्यरत श्रमिकको व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको प्रत्याभूतिका लागि अनुकरणीय र असल अभ्यास गर्ने उद्योग/प्रतिष्ठानहरुलाई विभिन्न सूचकका आधारमा छनौट गरी विभागबाट प्रत्येक वर्ष सम्मान गर्ने कार्यक्रम अनुरूप आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट एवम् अनुकरणीय कार्य गर्ने प्रत्येक प्रदेशबाट एक/एक वटाका दरले उद्योग/प्रतिष्ठानलाई आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीले सम्मान गरेका छन्।
सम्मान प्राप्त गर्ने उद्योग/प्रतिष्ठानहरू
१. कोसी प्रदेश: सूर्य नेपाल प्रा.ली., विराटनगर
२. मधेस प्रदेश: ब्रिटानिया नेपाल प्रा.ली., वीरगन्ज म.न.पा. – २१, पर्सा
३. बागमती प्रदेश: युनिलिभर नेपाल प्रा.ली., हेटौडा–३, बसामाडी, मकवानपुर
४. गण्डकी प्रदेश: सूर्य नेपाल प्रा.ली., सुक्ला गण्डकी–०७, तनहुँ
५. लुम्बिनी प्रदेश: राज ब्रुअरी प्रा.ली., रामग्राम–११, हकुई, नवलपरासी
६. कर्णाली प्रदेश: सिद्धार्थ शनि रिसोर्ट, वीरेन्द्रनगर, सुर्खेत
७. सुदूरपश्चिम प्रदेश: वेष्टन फिड इ. प्रा. ली., धनगढी उप–महानगरपालिका– १३, कैलाली