मोरङको उर्लाबारी नगरपालिकाका नगरप्रमुख गङ्गाप्रसाद खरेलमाथि सोमबार दिउँसो हातपात भएको छ। 

उर्लाबारी–७ का ४२ वर्षीय मिलन भण्डारीले खरेलमाथि कार्यालयमै मुक्का हानेका हुन्।

सोमबार दिउँसो ११ बजे भण्डारी नगरप्रमुख खरेललाई भेट्न कार्यालय पुगेका व्यवसायी भण्डारीले हातपात गरेका हुन्।

भण्डारीले नगरप्रमुखसँग योगसम्बन्धी कार्यक्रम सञ्चालनका लागि बजेट माग गरेका थिए।

नगरप्रमुख खरेलले प्रक्रिया पुर्याएर तिहारपछि आउन भनेर बैठकतिर लागेका थिए। तर भण्डारी खरेललाई कुरेर बसेका थिए। खरेल कार्यालयबाट बाहिर निस्किनासाथ सोमबार अपरान्ह ५ बजे मुक्का प्रहार गरेका हुन्।

मुक्का प्रहार गर्ने भण्डारीलाई नगर प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय उर्लाबारीलाई बुझाएको छ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राकेश यादवले घटनाको अनुसन्धान भइरहेको बताए। भण्डारी उर्लाबारीका चर्चित थेरापिष्ट हुन्।

उनले यसअघि थेरापी सेन्टर चलाएका थिए। पछिल्लो समय नगर प्रमुख खरेलले विद्यालय शिक्षामा योग र प्राणायामलाई पाठ्यक्रममा राख्नुपर्ने बताइरहेका छन्।

नगरप्रमुखको उक्त भनाइ अनुसार भण्डारी केही समययता योगाशन र प्राणायामको पाण्डुलीपिलाई पुस्तकको आकार दिन सहयोगी खोज्दै हिँडिरहेका थिए।