राजधानीमा जारी महिला साफ च्याम्पियनसिपको फाइनल खेल बुधवार हुँदै छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ६ बजे सुरु हुने खेलमा उपाधिका लागि घरेलु टोली नेपाल र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश आमने सामने हुँदै छन्।
फाइनल खेल अघि मङ्गलवार भएको पत्रकार सम्मेलनमा नेपाली टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बंगलादेशविरुद्धको फाइनल जसरी पनि जित्ने गरी मैदान उत्रिने बताइन्। उनले अहिलेको आफूहरुको टिम उत्कृष्ट रहेको बताउँदै ‘हामी गर्छौँ हामी जित्छौँ भन्ने नारा नै’ रहेको प्रष्ट पारिन्। उनले भनिन् ‘अहिलेको टिमले प्रतियोगिता नजिते अर्को ५–१० वर्ष लाग्न छ। हाम्रो टिम बण्डिङ पनि राम्रो छ।’
सन् २०२२ को फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएकाले धेरैले बदला लिने अवसर भनी रहेका बेला कप्तान एन्जिलाले बंगलादेशविरुद्ध बदला लिने भन्दा पनि उपाधि जित्ने नेपालका लागि अवसरको रुपमा व्याख्या गरिन्।
नेपालले साफ महिला च्याम्पियनसिपको ६ मध्ये ५ संस्करण फाइनल खेल्दा जहिले पनि उपाधि विमुख भएको छ। २०२२ को फाइनलमा नेपाल बङ्गलादेशसँग ३–१ ले पराजित भएको थियो।
नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपाल फाइनलका लागि तयार रहेको र जित्नका लागि खेल्ने प्रष्ट पारे। सेमिफाइनलमा भारतविरुद्धको नतिजाबाट उत्साहित देखिएका प्रशिक्षक तामाङले गल्ती कमीकमजोरी सच्याएर टिमले खेल्ने उल्लेख गरे।
यसैगरी, बङ्गलादेश टिमकी कप्तान सविना खातुनले नेपालसँगको फाइनल चुनौतीपूर्ण हुने बताउँदै उपाधि रक्षाका लागि मैदान उत्रने उल्लेख गरिन्।
यसैबीच, त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मङ्गलवार नै साफ महिला च्याम्पियनसिपको ट्रफी पनि सार्वजनिक गरिएको छ। दुवै टिमका कप्तान र प्रशिक्षकले ट्रफीसँगै फोटो सुट गरेका थिए।