हाल चाडपर्वको समयमा डेडिकेटेड फिडर र ट्रंकलाइन विवादका कारण नेपाल विद्युत् प्राधिकरणद्वारा उद्योगहरूको बिहीबार रातिदेखि विद्युत् काटिएको घटनामा नेपाल उद्योग वाणिज्य महासङ्घले गम्भीर रूपमा ध्यानाकर्षण भएको जनाएको छ।
सङ्घले यस किसिमको निर्णयले उद्योगहरूको उत्पादन प्रक्रियामा बाधा पुर्याउने साथै देशको उत्पादन प्रणाली र अर्थतन्त्रमा समेत प्रतिकूल प्रभाव पर्नाले लगानीको वातावरणमा नकारात्मक सन्देश जाने देखिएको जनाएको छ।
उद्योगहरूको विद्युत् आपूर्ति कटौती गर्दा उद्योगहरूको दैनिक सञ्चालनमा अवरोध आई उद्योगको लगानीमा प्रतिकूल असर परेको स्पष्ट पारेको छ। साथै, यसले उद्योगीहरूलाई असहज स्थिति सृजना गरेको तथा जसको समाधान सबै पक्षले वार्ताद्वारा गरिनुपर्ने सङ्घको माग रहेको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा गठित आयोगले यस विषयमा प्रतिवेदन बुझाइसकेको भएता पनि उक्त प्रतिवेदनको कार्यान्वयन नहुँदा समस्या उत्पन्न भएको छ।
सङ्घले, नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरणसँग उद्योगहरूको लाइन तत्काल जडान गर्न, वर्तमान विवादमा उत्पन्न असमझदारीलाई हटाई सबै पक्षहरू वार्ताद्वारा समाधान खोज्न अपिल गरेको छ। यसले उद्योग क्षेत्रमा सकारात्मक सन्देश जाने र राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउने सङ्घको विश्वास छ।