अवतरण अनुमति सकिएको एयर एसियाको जहाज काठमाडौँ आएपछि लामो समय आकाशमा ‘होल्ड’ हुन पुगेको छ।
बैंककबाट काठमाडौँका लागि उडेको जहाजले अवतरणको अनुमति नपाएपछि १३ नटिकल माइलमा होल्ड गरिएको थियो। उक्त जहाज २ बजे काठमाडौँमा अवतरण गर्नुपर्ने तालिका थियो। तर, अनुमति सकिएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अवतरण गर्ने अनुमति दिएन। त्यसपछि जहाज काठमाडौँमाथिको आकाशमा होल्ड भयो।
विमानस्थल स्रोतका अनुसार एयर एसियाको अवतरण अनुमति शनिबारसम्म मात्रै थियो। आइबारदेखि ‘विन्टर सेड्युल’ लागु भएकाले उक्त जहाजलाई विमानस्थलले काठमाडौँमा अवतरण गर्न दिएन।
उक्त कुरा विमानस्थलले नियामकीय निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गरायो। लगत्तै प्राधिकरणको आकस्मिक बैठक बस्यो र अवतरणका लागि अनुमति दियो।
अनुमति पाएपछि एयर एसिया २ः३७ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। यात्रुको सुरक्षा लगायतको कारण जहाजलाई अवतरणको अनुमति दिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिएका छन्।
समान्यतयाः जहाजको उडान र अवतरणबारे दुवैतर्फका विमानस्थललाई पहिल्यै थाहा हुन्छ।