डिफेन्डिङ च्याम्पियन बङ्गलादेश फराकिलो जीतसहित काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो। 
बङ्गलादेशलाई जिताउन तोहुरा खातुनले ह्याट्रिक गर्दा, सविना खातुनले २ गोल गरिन्। यसैगरी, ऋतु पोर्ना चक्मा र शिउली अजिमले एक एक गोल थपेका थिए। भुटानका लागि सातौँ मिनेटमा ऋतुले गोल गर्दै बङ्गलादेशलाई अग्रता दिलाइन्।
त्यसपछि लगातार भुटानमाथि दबाब बनाएको बङ्गलादेशले उत्कृष्ट प्रदर्शन गरेको थियो। १५ औँ मिनेटमा तोहुराले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएपछि बङ्गलादेश २–० ले अघि बढेको थियो।
२५ औँ मिनेटमा बङ्गलादेशले तेस्रो गोल गरेको थियो। बङ्गलादेशकी सविनाले व्यक्तिगत पहिलो गोल गरेकी थिइन्। ३४ औँ मिनेटमा तोहुराले व्यक्तिगत दोस्रो गोल डिबक्स बाहिरबाट गरेकी थिइन्।
३७ औँ मिनेटमा सविनाले पनि व्यक्तिगत दोस्रो गोल गर्दा बङ्गलादेश पहिलो हाफमै फराकिलो अग्रतामा अघि बढेको थियो। ४१ औँ मिनेटमा भुटानका लागि डेकी ल्हाजोमले गोल गरेर अन्तर ५–१ मा झारिन्। 
पहिलो हाफमा ५ गोल गर्दा १ गोल बेहोरेको बङ्गलादेशले दोस्रो हाफमा अरु २ गोल थपेको थियो। ५८ औँ मिनेटमा तोहुराले ह्याट्रिक पूरा गर्न सफल भइन्। उनले ह्याट्रिक पूरा गर्दा बङ्गलादेश ६–१ ले अघि बढेको थियो।
७२ औँ मिनेटमा, बङ्गलादेशकी शिउली अजिमले गोल गरेपछि बङ्गलादेश ७–१ गोल अन्तरले विजयी हुँदै फाइनलमा पुग्न सफल भयो। आजै हुने दोस्रो सेमिफाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ।