विकास, आर्थिक मामिला तथा सुशासन समितिको आइतबारको बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारी सम्बन्धमा छलफल भएको छ। आइतबार सङ्घीय संसद् सचिवालयमा बसेको बैठकले उक्त छलफल गरेको हो।
बैठकमा छलफल गर्दै समिति सचिव डा. रोजनाथ पाण्डेले कोप २९ मा नेपालले २२ वटा विषयमा छलफल गर्नुपर्ने बताए।
उनले भने, ‘नेपाल सरकारले प्राप्त गरेर खर्च गर्न पाउने मोडालिटीमा जानुपर्ने भन्ने छ। विभिन्न गरिब देशहरु ऋणमा फस्दै गएकाले थप बोझ बन्ने तरिकाको बिषयहरु हुनुहुँदैन। अर्थात् लोन प्राप्त गर्ने कुरामा सम्झौता गर्नु हुँदैन भन्ने कुराहरु उठेको छ। २२ वटा एजेण्डाहरु डिस्कसनमा आउँछन्। जुन फाइनान्सली मोडालिटी सम्बन्धमा भन्ने छ। सम्मेलनले उठाएका यी विषयहरु र मुद्दाहरुमा सम्बन्धित निकायहरुले पूर्ण रुपमा तयारी भएर कोपमा जानुपर्ने छ।’
साथै उनले कोपमा प्राइभेट सेक्टरको कुरा पनि व्यापक रुपमा उठ्नुपर्ने बताए। उनले दिगो विकास अन्तर्गत रहेका १७ वटा लक्ष्यहरुमा पनि ध्यान जानुपर्ने बताए।