अखिल नेपाल फुटबल संघ (एन्फा) ले अक्टोबर १७ (विहीबार) देखि ३० सम्म दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिप २०२४ आयोजना गर्ने भएको छ । 

मंगलवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै दक्षिण एसियाली फुटबल महासंघ (साफ) को तालिका अनुसार एन्फाले च्याम्पियनसिप आयोजना गर्न लागेको जानकारी दिएका हो । 

प्रतियोगितामा नेपाल लगायत माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरि सात टीमले सहभागिता जनाउँदै छन् ।

सहभागी टोलीहरु मध्ये पाकिस्तान, माल्दिभ्स र बंगलादेश आइसकेका छन् भने भारत र भुटान बुधवार बिहानसम्म काठमाडौँ आइपुग्ने जानकारी गराइएको छ ।

प्रतियोगिताको तयारीका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ ।

प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट.जेभियर्स स्कूलको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ ।

प्रतियोगिताको टेलिभिजन प्रसारण, मार्केटिङ र डिजिटल अधिकार एडी रिलिजलाई प्रदान गरिसकिएको छ । 

प्रतियोगिताका सम्पुर्ण खेलहरु कान्तिपुर म्याक्स एच्डीबाट प्रत्यक्ष प्रशारण गरिनेछ । प्रतियोगिताको टिकटको अधिकार माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रा.लि.लाई प्रदान गरिएको छ । 

प्रतियोगिताको समूह चरणका खेलको टिकट दर साधारण पारापिट तर्फ तीनसय रुपैंयाँ र भीआइपी तर्फ पाँचसय रुपैंयाँ तोकिएको छ ।

नकआउट चरणका खेलहरुको टिकट दर साधारण पारापिटतर्फ पाँचसय रुपैंयाँ, भीआईपीतर्फ एक हजार रुपैंयाँ कायम गरिएको छ । प्रतियोगितामा १० बर्षसम्मका सबै बालबालिकालाई निःशुल्क प्रवेश दिइनेछ ।

प्रतियोगिता अवधिभर दर्शकहरुको सुविधाको लागि रंगशाला परिसर भित्रै खाजाको व्यवस्था पनि गरिएको छ । यसका लागि शिवांश फुड एण्ड बेभरेज प्रालिसँग सम्झौता गरिएको छ ।