पतञ्जली योग समिति मोरङको आयोजनामा जिल्लाकै बेलबारी नगरपालिका ७, बाहुनीमा १५ दिने सह– योग शिक्षक तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ । स्थानीय गैरसरकारी संस्था एकीकृत हातेमालो समाज नेपालको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो कार्यक्रमका अवसरमा तालिममा सहभागी २३ जना प्रशिक्षार्थीहरूलाई आयोजक संस्थाले दीक्षित गरेको थियो ।
दीक्षित प्रशिक्षार्थीहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा बस्नेतले प्रथम, सङ्गीता कार्कीले दृत्तीय र बद्रीप्रसाद गुरागाईँ तथा डम्बरप्रसाद नेपालले संयुक्त रूपमा तृतीय स्थान प्राप्त गरे ।YOG2
कार्यक्रमकी दोस्रो उत्कृष्ट सहभागी सङ्गीता कार्कीले योग अभ्यासबाट आफ्नो अस्तव्यस्त जीवनशैलीमा सुधार आएको बताइन् । ढाडको समस्याबाट मुक्ति पाउनुका साथै यसको अभ्यासले शारीरिक स्फुर्तिसमेत बढाएको उनको भनाइ थियो । योग र ध्यान स्वास्थ्यका लागि आवश्यक रहेको बताउँदै उनले आफूहरूले गाउँका सर्वसाधारणमा यसको प्रशिक्षण दिने उनले उल्लेख गरिन् । स्थानीयस्तरमा योगको अभ्यास गर्ने वातावरण तयार गर्न सके स्वास्थ्यमा सकारात्मक परिवर्तन आई उपचार खर्च बचत हुने उनको भनाइ थियो ।
कार्यक्रमकी अर्की सहभागी एकीकृत हातेमालो समाज नेपालकी अध्यक्ष दुर्गा गिरी भट्टराईले आफूहरूले पतञ्जलीसँगकै सहकार्यमा यसअघि पनि योग शिविर सञ्चालन गरेको बताइन् । योगको नियमित अभ्यास गर्नुपर्ने बताउँदै उनले योगको अभ्यासले विभिन्न रोगबाट मुक्त हुन मद्दत गर्ने उल्लेख गरिन् । योग शिविर कार्यक्रम आफ्नो संस्थाले निरन्तर रूपमा आयोजना गरिरहने भट्टराईले प्रष्ट पारिन् ।
कार्यक्रमका सभापतिसमेत रहेका पतञ्जली योग समिति मोरङका अध्यक्ष सुरेशकुमार अग्रवालले आफ्नो संस्थाले योग अभ्यासको संस्कार विस्तार गर्ने कार्य जारी राख्ने बताए । आफूहरूको अभियानमा विभिन्न संस्थाहरूले सहयोग गर्दै आएको स्मरण गर्दै उनले सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गरे ।YOG1
कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले समाजलाई स्वस्थ बनाउन योग प्रशिक्षकको महत्वपूर्ण भूमिका हुने बताए । प्रशिक्षण र अभ्यासको विस्तारलाई निरन्तरता दिन उनले आग्रह गरे । योगको अभ्यास प्राचिन अभ्यास रहेको उनको भनाइ थियो । योगगुरुहरूले आफ्नो दायित्व उचित ढङ्गले निर्वाह गर्न नसक्दा योगको लाभ जनस्तरमा विस्तार हुन नसकेको उनले उल्लेख गरे ।
कार्यक्रममा लायन्स क्लबको अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ सी का प्रतिनिधि विकास अधिकारी, पतञ्जली योग नेपालकी कोशी प्रदेश सचिव शोभा कोइराला, प्रहरी चौकी बाहुनीका प्रमुख प्रहरी सहायक निरीक्षक कृष्णमोहन सिंह लगायतको उपस्थिति रहेको थियो ।