मोरङको बेलबारी नगरपालिका १ स्थित नक्सल सामुदायिक वन उपभोक्ता समूहको १७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । वनको वार्षिक आर्थिक प्रगति प्रतिवेदन पारित गर्दै साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका सभापतिसमेत रहेकी सोही वन समूहकी अध्यक्ष चन्द्रकला मगरले हाल आफ्नो नेतृत्वमा रहेको वन २०५६ सालमा स्थापना भई हालसम्म निरन्तर कृयाशील रहेको बताइन् । दुई सय ४६ हेक्टर क्षेत्रमा फैलिएको वनले स्थानीय पर्यावरणलाई हराभरा बनाउन र स्थानीय सर्वसाधारणको जीवनयापनलाई सहज बनाउन योगदान गरेको उनले उल्लेख गरिन् ।
यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि सबडिभिजन वन कार्यालय मोरङका प्रमुख दीपेश मिश्रले नक्सल क्षेत्र वन्यजन्तु प्रभावित क्षेत्र भएको बताए । यसको व्यवस्थापनका लागि कार्यविधि र पूर्वाधार निर्माण गरिनुपर्ने उनले उल्लेख गरे । यस क्षेत्रको व्यवस्थापनका लागि आर्थिक स्रोतको खोजीमा आफ्नो कार्यालय प्रयासरत रहेको उनको भनाइ थियो । वनको वार्षिक कार्यक्रममा यस्ता योजना समावेश गरे सहयोग जुटाउन सहज हुने उनको धारणा थियो ।NASK2
कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले सामुदायिक वनहरूमा समस्या देखिने गरेको भन्दै आर्थिक अनुशासन र पारदर्शिता नियमित गरी काम गर्न वन समूहका पदाधिकारीहरूलाई अपिल गरे । वनको भविष्य कस्तो बनाउने भन्ने स्पष्ट योजना लिएर काम गर्नुपर्ने उनले उल्लेख गरे । वनमा आश्रित परिवारको सङ्ख्या सम्बन्धित वनले यकिन गरी त्यस्ता परिवारलाई फाइदा पुग्नेगरी वनले काम गर्नुपर्ने उनले बताए ।NAK3
कार्यक्रममा प्रदेश वन महासङ्घका सदस्य अग्नीप्रसाद पौडेल, जिल्ला वन महासङ्घका महासचिव बालकुमार कट्टेल, बेलबारी सवडिभिजन कार्यालयका सहायक वन अधिकृत राजेन्द्रकुमार घिमिरे लगायतको उपस्थिति रहेको थियो ।