नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले दोलखा पर्यटक र लगानीको हिसाबले ठुलो सम्भावना बोकेको क्षेत्र भएको बताएका छन्। 
मङ्गलवार काठमाडौँमा दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी सङ्घ र नेपाल पर्यटन बोर्डको आयोजनामा भएको दोलखाको पर्यटन प्रवर्द्धनका लागि अन्तरक्रिया कार्यक्रममा उनले दोलखालाई पोखरा जस्तो पर्यटकीय क्षेत्र बनाउन सकिने भन्दै यसका लागि नीति निर्माता र पर्यटन व्यवसायीले ध्यान दिनुपर्ने बताए। 
उनले भने, ‘पोखरामा जस्तो खालको आकर्षण छ त्यस्तै आकर्षक दोलखामा देखेको छ। दोलखामा सबथोक पनि पर्यटनको व्यवस्था नभएको कारण चर्चामा नआएको कुरामा सबै नीति निर्माता, पर्यटन व्यवसायीले ध्यान दिनुपर्छ। प्राय पोखरा जाने पर्यटकलाई दोलखामा पनि ल्याउन सकिन्छ। केही स्थानमा सडकको समस्या भएर मात्र हो नत्र लगानीको ठुलो सम्भावना रहेको क्षेत्र हो।’ 
जिल्लामा रहेका समस्याहरुलाई स्थानीय तहबाटै समाधान गर्ने दोलखाका सम्भावना र पर्यटकीय गन्तव्य बारे राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चर्चा गर्ने काम बोर्डले गर्ने बताए। उनले चरिकोटदेखि कुरीसम्मको केबलकार अत्यन्तै आवश्यक रहेको भन्दै यसबाट चरिकोट र भीमेश्वर पनि बढी चर्चामा आउने बताए। 
उनले भने, ‘अहिले सुकुटे बिच जाने, त्यसपछि कालिन्चोक पुगेर फर्किनेहरु धेरै छन्। कालिन्चोकसम्म जाने केबलकार जसरी राखिएको छ त्यसैगरी चरिकोटदेखि कुरीसम्मको केबलकार अत्यन्तै आवश्यक छ। यसो गर्न सकियो भने कालिन्चोकसम्म जाने पर्यटक बढ्छ । यसबाट चरिकोट र भिमेश्वर पनि बढी चर्चामा आउँछ।’