दसैँ नजिकिएसँगै उपत्यका छाड्नेहरुको सङ्ख्या क्रमशः बढ्दै छ। सडक सहज भएका गन्तव्यसम्म पुग्न मानिसहरुले बसको टिकट बुकिङ गरेका छन्। बिहीबारदेखि आएको अविरल वर्षाअघि नै दशैंमा गाउँ जानेहरुले टिकट बुकिङ गरे पनि सडक पूर्ण रुपमा सञ्चालनमा नआउँदा यात्रुहरू अन्योलमा छन्।  
दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन यात्रुको भीड भने पातलिएको छैन। चाँडै सडकको अवरोध हट्ला र सहजै गाउँ फर्किने अपेक्षा लिएकाहरु काउन्टर अगाडि लाइन लागेका छन्। 
अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डडेल्धुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्युठान, रोल्पा तथा पूर्वको बिर्तामोड, ताप्लेजुङ, इलाम, काँकडभिट्टा, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भिडभाड छ।
सरकारले अनलाइनमार्फत टिकट बुक गर्न पाउने व्यवस्था मिलाए पनि यात्रु भने बिहानैदेखि लाइनमा बसेर टिकट काटिरहेका भेटिन्छन्। 
हरेक वर्ष दसैँ मनाउनका लागि राजधानी काठमाडौँबाट २० लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन्। सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरेसँगै १० लाख यात्रुले टिकट बुकिङ गरिसकेको व्यवसायीहरुको भनाइ छ। 
काठमाडौँको गंगबु बसपार्कमा टिकटको लागि समस्या नभए पनि मौसम प्रतिकुलका कारण सडक अवरुद्ध हुँदा यात्रुहरू मर्कामा परेका छन् । लगातार तीन दिन अविरल वर्षा काठमाडौँ जोड्ने सडकहरु अवरुद्ध हुँदा पूर्व र पश्चिम जाने यात्रुहरू बढी मर्कामा परेका हुन्। 
तर अविरल वर्षा सकिएको पछिल्लो तीन दिनसम्म गाडी गुड्न नसक्दा यात्रुहरुमा आक्रोशित देखिन्छन्। सडक सुचारु गर्न सरकारले पर्याप्त काम नगरेकोप्रति यात्रुहरू आक्रोशित बनेका हुन्। 
यात्रुहरुले फरक फरक गुनासो गरिरहेका छन् । कतिपय यात्रु दशैंको लागि भनेर विदेशबाट नेपाल आएका छन्। काठमाडौँबाट गाउँ जान नपाएर चिन्तामा रहेका उनी सरकारप्रति बढी रुष्ट छन्। नेपालको सडक र सरकारको कार्यशैली देखेर आफू दिक्क भएको नयाँ बसपार्कमा भेटिएका विष्णु पराजुलीको भनाइ छ।
‘सडक अवरुद्ध छ। विदेशबाट आएको तीन दिन भइसक्यो। सडक अहिलेसम्म खुल्न सकिरहेको छैन। धेरै जना काठमाडौँमै अड्किएर बस्दा दिक्क भइसक्यो, खर्च बढिरहेको छ। यातायात व्यवसायी महासङ्घले पनि गाडी पठाउन सकेको भए सजिलो हुन्थ्यो,’ पराजुलीले भने। 
पराजुलीलाई जस्तै अन्य यात्रुहरुलाई पनि दशैंको समयमा घर पुग्न उत्तिकै हतार छ। तर यस्तै पीडा सुनाउँदै नयाँ बसपार्क क्षेत्रमै भेटिएका यात्रु रमेश क्षेत्रीले भने,‘उपप्रधानमन्त्रीको जिम्मेवारी पाएका प्रकाशमान सिंह काठमाडौँ कै जन प्रतिनिधि हुन। तर बसपार्कमा सयौं मानिसहरु मान्छे भोकै छन्। कतिले पानी समेत पिउन पैसा नभएको अवस्था छ तर सिंह जस्ता जनप्रतिनिधिहरुको कुनै सहयोग र सद्भाव छैन।’
उनले  भने, ‘म विदेशबाट आएको हुँ। म सँग त पैसा होला तर तीन दिनसम्म टिकटको लागि बसपार्कमै भोकै बसेका धेरै जना छन्। गाडी होल्ड हुँदा यहीँ काठमाडौँ  क्षेत्रका जनप्रतिनिधिहरुले यात्रुहरुप्रति ध्यान दिनुपर्ने होइन र ?’
क्षेत्रीले काठमाडौँ महानगरका प्रमुख बालेन शाहले पनि बसपार्कतिर आफ्नो ध्यान लगाउन आग्रह गरे। उनले सडक खुलाउने प्रयासमा सरकारले नेपाल प्रहरी, सेना र सशस्त्रहरूलाई दुःख दिइरहेको तर आवश्यक बजेट एवम् इक्युमेन्टहरु उपलब्ध नगराएकोमा आक्रोश व्यक्त गरे। 
बस चालक राकेश भट्टले पनि चार दिनसम्म आफ्नो गाडी उपत्यका भन्दा बाहिर जान नसक्दा खर्च धान्नै मुस्किल पर्ने बताए । उनले विपतमा सरकारले सहयोग नगर्ने हो भने यस्तो सरकारको आवश्यक नभएको बताए।  
उनले भने, ‘हप्ता दिन हुन लाग्यो यता बसेको, धेरै आपत् आई लागिसक्यो। विपतको समयमा प्रधानमन्त्री अमेरिका घुम्न मिल्छ ? जनताको केही चासो गर्दैनन्। सरकारलाई पहिले नै जानकारी भइसकेको थियो बाढी र पहिरोमा परेर मान्छेहरु अलपत्र छन् भनेर ।तर सरकार कानमा तेल हालेर सुत्यो। फसेका यात्रुहरुलाई उद्धार गर्न कुनै सरकारी निकाय पुगेन। मरिसकेपछि लास मात्र गन्नका लागि सरकार उद्धारको नाटक गर्न दुर्घटनाग्रस्त क्षेत्रमा पुग्यो।’
साथै उनले गरिबहरूको लागि सरकारले केही गर्न नसकेको बताए। उनले जनताको समस्यामा नपुग्ने जनप्रतिनिधिहरु बस किन राती चलाएको भनेर उल्टै बस व्यवसायीहरुलाई थर्काएको उनले गुनासो पोखे।
उनले राती बस नचलाउने सरकारको निर्णय राम्रो भएपनि पहलकदमी नगरी सञ्चालनमा रोक लगाउनु उचित नहुने बताए। उनले दुई वटा पार्टी मिलेर सरकार बनाउने तर पहलकदमी गरेर  निर्णय लिन नसक्ने सरकार कसैलाई नचाहेको बताए। 
अहिलेको सरकारप्रति सबैको गुनासो त छँदै तर युवापुस्ताले सबैभन्दा बढी गुनासो गरिरहेको अवस्था छ। यस्तै, अर्का यात्रु अनिल गुप्ताले सरकारले पहल गरेको भए धेरै दिनसम्म यात्रु यसरी अलपत्र नपर्ने बताए। उनले सरकारले कुनै हिसाबबाट पनि पहल गरेको भए यात्रुहरू आफ्नो आफ्नो घर पुगिसक्ने बताए।
सरकारले घुम्नमा एक करोड खर्च गर्न सक्ने तर सडक सञ्जालको लागि एउटा डोजर किन्न नसक्नु लाजमर्दो भएको उनले बताए। सरकारसँग गुनासो भएपनि यात्रुहरुलाई टिकटमा समस्या नभएको उनीहरुको भनाइ छ। 
तर पहाडी जिल्लाहरुमा जानको लागि एउटा मात्र रुट भएकाले हुम्ला र दार्चुला जाने यात्रुहरू थोरै समस्यामा परेको तुलसीपुर यातायात प्राइभेट लिमिटेडका काठमाडौँ शाखा प्रमुख रमेश गौतमले बताए। उनले यात्रुहरुले दुःख नपाउन भन्नकै लागि मोबाइल तथा अनलाइनबाट टिकट खुला गरिएको समेत बताए।
उनले बसमा तोकिएको भाडा भन्दा कसैले बढी लिएको पाइए कारबाही गरिने बताए। उनले गाडी सडक अवरुद्ध हुँदा कुनै यात्रु विशेष कारणले जान सक्ने अवस्था नभए पैसा समेत फिर्ता गरिने बताए।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय बहादुर स्वाँर सडकको अवस्था ठिक नभएसम्म गाडी गुडाउन नसकिने बताउँछन्। बुकिङ खुलाएको पहिलो दिन यात्रुहरुको भीड अत्याधिक भएपनि हाल भीड घट्दै गएको बताउँछन्। ‘बाटो नखुलिईकन बुकिङ मात्र गरेर भएन। जब राजमार्ग सुचारु हुन आउँछ त्यसपछि टिकटको विषय सहजीकरण गर्दै जाने छौँ,’ उनले भने।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग घटस्थापनासम्म सडकलाई ठिक बनाउने र त्यसपछि धमाधम यात्रुलाई सहज सेवा दिने सहमति भएको भएपनि अब त्यो सम्भव नभएको उनले बताए।
‘पहिरो खुलाएपछि पनि ढुक्कले यात्रा गरिहाल्नुपर्ने अवस्था छैन। अझै घाम लागेपछि सुक्खा पहिरो त जान्छ जान्छ। तर, सरकारको संयन्त्र र सडकमा काम गरिरहेकाहरुसँग भएको स्रोत र साधनलाई पुरै परिचालन हुने गरेर रातदिन नभनी दसैँभरि परिचालन गर्नुपर्ने स्थिति छ,’ अध्यक्ष स्वाँरले भने।