‘चाडपर्वको मुखमा हुने कालोबजारी नियन्त्रणका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सक्रियता बढाएको छ।

चाडपर्व र प्राकृतिक विपत्तिकै समयमा कालोबजारी मौलाएको गुनासो आएको भन्दै विभागले दैनिक अनुगमन टोलीको सङ्ख्या बढाएको हो। सोमबार मात्र १९ फर्म तथा उद्योगमा अनुगमन गरिएको विभागले जनाएको छ।

सोमबार भक्तपुरको इबामुरा मेमोरियल अस्पताललाई २० हजार रुपैयाँ जरिवाना गराइएको छ। काठमाडौँको एभरेष्ट होटललाई तीन लाख रुपैयाँ र इमिरो प्लाजालाई तीन लाख रुपैयाँ जरिवाना गराइएको विभागले जनाएको छ।

विभागले ‘स्ट्रिङ अपरेसन’ सरह ११ ओटा टोली काठमाडौँ उपत्यकामा अनुगमन तथा निरीक्षणका लागि परिचालन गरेको जनाएको छ। 

विभागका महानिर्देशक राजन पौडेलका अनुसार चाडपर्वसँगै विपत्ति समेत आएकाले यही समयमा कालोबजारी फस्टाइरहेको गुनासाहरु आएपछि टोली परिचालन गरिएको हो। 

कालोबजारी वा कम गुणस्तरको सामग्री विक्री वितरण गरिएको पाइए निरीक्षणकै स्थानबाट तीन लाखसम्म जरिवाना गर्ने गरी ११ ओटा टोली परिचालन गरिएको महानिर्देशक पौडेलले बताए। टोलीको नेतृत्व भने निरीक्षण अधिकृतले गरिरहेको उनले बताए।

यस्तै कालोबजारी तथा म्याद गुज्रिएको सामग्रीहरूको समेत अनुगमन गर्ने गरी देशैभर सहायक सिडियोको नेतृत्वमा बजार अनुगमन सुरु गरेको महानिर्देशक पौडेलको भनाइ छ। सो सँगै स्थानीय पालिकाहरुसंग समन्वय गरेर बजार अनुगमनलाई तीव्रता दिएको विभागले जनाएको छ।

Press release 56