केही दिनअघिको बाढीपहिरोका कारण काभ्रेमा ६२ जनाको मृत्यु भएको छ। चार बेपत्ता भएका छन्। ५२ जना घाइते भएका छन्।

मृतकमध्ये एक विदेशी नागरिक तथा रोसी गाउँपालिकामा एक रामेछापकी महिलाको मृत्यु भएको हो। 

घटनामा हालसम्म २३ महिला, २७ पुरुष, एक बालक र एक बालिका घाइते भएका छन्। 

घाइतेको धुलिखेल, बनेपा तथा काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। पनौती नगरपालिका–११ बल्थलीमा पहिरोमा एकै परिवारका चारजना अझै बेपत्ता रहेको जनाइएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म बाढीपहिरोमा परी मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकामा सात महिलासहित १८ छन्। मृतकमध्ये आठ पुरुष, दुई बालक, एक बालिका तथा एक विदेशी नागरिक रहेको जनाइएको छ। 

बाढीपहिरोमा बेपत्ताको खोज, उद्धार तथा राहत वितरणकार्य जारी नै रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले जानकारी दिए।