विराटनगर महानगरपालिका–२ मुनालपथस्थित भब्या इन्टरनेशनलमा लागेको आगो करिब २ घण्टापछि नियन्त्रणमा आएको छ।

विराटनगर महानगरपालिकाबाट गएको ३ वटा दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन्। दिउँसो २ बजेतिर आगलागी सुरु भएको थियो। आगो ३ः४५ बजेतिर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

इलेक्ट्रिक साइकल र सीटी सफारी बिक्री गरिने पसलमा आगलागी हुनुको कारण खुलेको छैन। मनिष वंशलले संचालन गर्दै आएको उक्त पसलबाट बिजुलीले चल्ने साइकल तथा सफारी बिक्री गरिँदै आएको थियो।

आगोले पसल पूर्णरूपले जलेको छ। क्षतिको विवरण आइसकेको छैन। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले क्षतिको विवरण संकलनको काम भइरहेको बताए।

आगोले बिजुलीको पोलमा टाँगिएका केवल, इन्टरनेटलगायतका तारहरु पनि जलेका छन्। ब्याट्री पड्किएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ।

आगलागी सुरु भएको करिब १ घण्टासम्म पनि दमकल नआइपुगेको भन्दै स्थानीय आक्रोसित बनेका थिए। विराटनगर महानगरपालिकाको दमकललाई घटनास्थल पुग्न नै करिब १ घण्टा लागेको स्थानीय बताउँछन्।