ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरलाई स्मार्ट सिटी बनाउन लागिपरेको बताउँदै त्यसका लागि विप्दबाट आउन सक्ने जोखिम न्यूनीकरण गर्न जरुरी रहेको बताएका छन्।
बुधवार ललितपुर महानगरपालिकाको आगलागी नियन्त्रण सचेतना अभियान शुभारम्भ कार्यक्रमलाई प्रमुख महर्जनले विपद्लाई सम्बोधन गर्न नसके स्मार्ट सिटी किमार्थ हुन नसक्ने उल्लेख गर्दै यसलाई महत्वकासाथ हेरिरहेको बताएका हुन्।
उनले भने, ‘हामी ललितपुर महानगरलाई एउटा स्मार्ट सिटी बनाउने तर्फ लागिरहेका छौँ। स्मार्ट सिटी बनाउने सन्दर्भमा विपद्लाई सम्बोधन गरिएन भने स्मार्ट सिटी किमार्थ हुन सक्दैन। त्यसकारण हामी यसतर्फ एकदम महत्वको साथ ध्यान दिइरहेका छौँ। आवश्यकता अनुसार हामीले लगानी पनि गरिरहेका छौँ। अहिले हाम्रो नगर प्रहरी बल १२५ जनाको हुन पुगेको छ। हामीले समयसापेक्ष यो विपद्का साधनहरुको समेत व्यवस्थापन गरेका छौँ। यी सबै काममा हामी अग्रसर भई नै रहेका छौँ।’
विपद्सम्बन्धीका घटना र परिघटनाको व्यवस्थापनका लागि आवश्यक साधनहरू एउटै छानामुनि तयारी अवस्थामा राखिएको उनको भनाइ छ।
उनले दमकल, एम्बुलेन्स, सववाहन, नगरप्रहरी र विपद्सम्बन्धी इक्युपमेन्ट्स टुलहरु पुलचोकमा व्यवस्थापन तयारीमा अवस्थामा राखेको उल्लेख गरे।
‘हाम्रो एउटा मूलभूत उद्देश्य भनेको विपद्सम्बन्धी जतिपनि अवयहरु छन् ती सबै एउटै छानामुनि व्यवस्थापन हुनुपर्दछ भन्ने नै हो। सोही अनुसार हामीले दमकल, एम्बुलेन्स, सववाहन, नगरप्रहरी र विपद्सम्बन्धी इक्युपमेन्ट्स टुलहरु पुलचोकमा तयारी अवस्थामा राखेका छौँ। तसर्थ कुनैपनि घटना परिघटना हुँदै गर्दा पहिलेको तुलनामा अहिले धेरै नै सुधार भएको छ ।’
त्यस्तै, प्रमुख महर्जनले कुनैपनि आगलागीका घटना घटेमा ११३१ मा फोन गरेर अथवा महानगरको स्मार्टमा समेत गएर जानकारी गराउन सबैमा आह्वान गरे।