आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा मङ्गलवार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुने भएको छ। मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्ड, किङ्ग सिटीमा खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ। क्यानडा भ्रमणमा ३ खेल गुमाइसकेको नेपाललाई हारको शृङ्खला तोड्न ओमानलाई हराउनै पर्ने दबाब छ। 
नेपालले सिरिजमा कम्तीमा ६ अङ्क जोड्ने लक्ष्य राखेको भए पनि खराब प्रदर्शन गरेपछि नेपालका लागि सिरिजमा जितविहीन हुने खतरा बढेको छ।
पहिलो खेलमा क्यानडासँग ब्याटिङ र बलिङमा पूरै खराब प्रदर्शन गर्दै नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो। दोस्रो खेलमा ओमानविरुद्ध १ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा घरेलु टोलीविरुद्ध ५ विकेटको हार बेहोरेको थियो। 
क्यानडासँग टस जिजेर पहिला ब्याटिङ गर्ने निर्णय नेपालका लागि गलत साबित भएको थियो। 
घरेलु सिरिजमा गरेको खराब प्रदर्शन र क्यानडा भ्रमणमा पनि सोही गल्ती दोहोयाएपछि  लिग २ मा नेपालका लागि चुनौती थपिएको छ 
नेपाललाई लिग–२ को शीर्ष ४ मा अटाउन यसै खेल मार्फत पुनरागमन गर्नु पर्ने आवश्यकता छ। किङ्ग सिटीको पिच फास्ट बलरका लागि अनुकूल छ। तर नेपालको फास्ट बलिङ र ब्याटिङ चल्न सकेको छैन।