कोशी राजमार्ग अन्तर्गत संखुवासभाको खाँदबारी–तुम्लिङटार सडक खण्डमा दुई वटा भ्यान एक आपसमा ठोक्किदा ११ जना घाइते भएका छन्।

कोशी राजमार्ग अन्तर्गत खाँदबारी–तुम्लिङटार सडक खण्डमा दुई वटा भ्यान एक आपसमा ठोक्किदा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो।

सोमबार खाँदबारीदेखि तुम्लिङटार जाँदै गरेको को १ ज २३०३ नम्बरको भ्यान र तुम्लिङटारबाट खाँदबारीतर्फ आउँदै गरेको बा.प्र.०१–०३० च ५७८२ नम्बरको विद्युतीय भ्यान एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेको जिल्ला अस्पताल संखुवासभामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा को १ ज २३०३ नम्बरको मारुती चालक भ्यान भोजपुरको षडानन्द नगरपालिका –८ का २९ वर्षीय रितेश श्रेष्ठ, षडानन्द नगपालिका–१२ का २८ वर्षीया मिना तामाङ, ४७ वर्षीय राम बहादुर विश्वकर्मा, ४६ वर्षीया हिरामाया विश्वकर्मा,२८ वर्षीय मोहन तामाङ, षडानन्द –१० का ५० वर्षीय राज कुमार राई,  षडानन्द –२ कुदकाउलेका ७० वर्षीय मचिन्द्र विष्ट, संखुवासभाको खाँदबारी नगरपालिका– ३ मानेभञ्याङकी ६८ वर्षीय शान्ति घिमिरे घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लामिछानेले बताए।

त्यस्तैगरी, विद्युतीय भ्यान बा.प्र.०१–०३० च ५७८२ नम्बरमा सवार संखुवासभाको सभापोखरी गाउँपालिका –२ की २८ वर्षीया उर्मिला खनाल र उनका छोरा ५ वर्षीय उशल खनाल घाइते भएका छन्। केही यात्रु गम्भीर घाइते भएका छन्।

घटनाको बारेमा थप अनुसान्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।