ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन्।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सिँचाइ आयोजनाको इन्टेकको आज निरीक्षण गर्दै मन्त्री खड्काले आयोजना सञ्चालनका क्रममा देखिएका समस्या तत्काल समाधान गर्दै किसानका खेतबारीमा सिँचाइ पुर्‍याउन निर्देशन दिए।
मन्त्री खड्काले आजै कोसी नदीबाट सुनसरी र मोरङ जिल्लामा सिँचाइ लैजान प्रयोग गरिएको ‘डेज्रिङ पद्धति’को अनुगमन गरेका थिए। उक्त उपकरणको लम्बाइ नौ सय ९६० मिटर, चौडाइ ८० मिटर र गहिराइ १० मिटर रहेको छ।
सो उपकरणले इन्टेकबाट मूल नहरमा छिरेको बालुवा तथा गेग्रान झिक्ने काम गर्ने सिँचाइ आयोजना कार्यालयले जनाएको छ। वि.सं. २०५२ मा निर्माण भएको दुई वटा उपकरणमध्ये हाल एउटा मात्र सञ्चालनमा छ।
मन्त्री खड्काले बिग्रेका उपकरणको तत्काल मर्मत गर्नुका साथै त्यसको विकल्पमा नयाँ प्रविधिको अध्ययन गरेर सञ्चालनमा ल्याउन सके सिँचाइ सुविधामा सहयोग पुग्ने बताए। सुनसरी–मोरङ सिँचाइ आयोजनामार्फत हाल सुनसरीको ४० हजार र मोरङको २८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सेवा उपलब्ध हुँदै आएको छ।
निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडी, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, सिँचाइ विभागका उपमहानिर्देशक दिनेश भट्टलगायत सहभागी थिए।