कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले  मह उत्पादक किसानहरुको समस्या अध्ययन गर्न समिति  गठन गरेका छन्। 
आइतबार मन्त्रालयमा बसेको सरोकारवालाहरुको बैठकमा मन्त्री अधिकारीले मन्त्रालयका सहसचिव भोजराज सापकोटाको अध्यक्षतामा सरोकार पक्षको समेत  सहभागिता हुने गरी ९ सदस्यीय समिति गठन गरेका हुन्। समितिलाई १५ दिन भित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ। 
बैठकमा मन्त्री अधिकारीले मह उत्पादक किसान र वितरक दुवै पक्षको हित हुने गरी कार्यदलले सुझाव दिने विश्वास व्यक्त गरे। 
मन्त्री अधिकारीले सरकारको लक्ष्य आयात प्रतिस्थापन गरी स्वदेशी किसानको उत्पादनलाई प्राथमिकता दिने भए पनि मह किसानको तत्काल देखिएको समस्या समाधान गर्न जरुरी रहेको  बताए। समितिले दिने सुझावका आधारमा मन्त्रालय अघि बढ्ने मन्त्री अधिकारीले बताए। 
मह किसानहरूले हाल मौज्दात रहेको २१ सय मेट्रिक टन मह बिक्रीको व्यवस्था मिलाइदिन सरकार समक्ष माग गरेका छन्।
मह आयात रोके पनि सिरफको रुपमा यसको आयात भइरहेको भन्दै मह किसानहरूले महको आयातमा कर वृद्धि गर्नुपर्ने , स्वदेशी महलाई बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने  लगायतका माग सरकार समक्ष राखेका छन्।