नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरू एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै ढिलो गरी छिट्टै एकताबद्ध हुन आह्वान गरेका छन्।  
सहिद प्रतिष्ठान नेपालको पन्ध्रौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले जनयुद्धबाट प्राप्त उपलब्धि र भोग्नुपरेका चुनौती सबै माओवादीका साझा उपलब्धि र चुनौती भएकाले माओवादी घटकहरू मिल्नुको विकल्प नभएको बताएका हुन्। 
‘हामीसँग हजारौँ महान् राष्ट्रिय सहिदहरु छन्, यो हाम्रो ठुलो शक्ति हो’ उनले भने,‘माओवादी जतिलाई एकीकृत र केन्द्रिकृत गर्ने बित्तिकै त्यो तागत निकै ठुलो हुनेवाला छ। अझै पनि हामी सही ठाउँमा छौँ, हामी वैधानिक र शान्तिपूर्ण रूपमा लडेर पनि जित्न सक्छौँ, जतिसक्दो चाँडो हामी एकताबद्ध भएर अघि बढौँ, विजय सम्भव छ।’ 
संसदीय चुनाव लडिसकेपछि सङ्ख्याका हिसाबले कहिले कम र कहिले बढी हुनु स्वाभाविक भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले संसद्को शक्तिभन्दा पनि नेपाली राजनीतिको क्रान्तिकारी र ऐतिहासिक विरासत, बलिदानको गाथा र राजनीतिक विचार तथा एजेण्डाका हिसाबले अहिले पनि माओवादी नै बलियो शक्ति भएको बताए। 
अहिले पनि संसद्मा विपक्षीहरूलाई कमजोर पार्न विभिन्न षड्यन्त्र भइरहेको र पछिल्लो समय महान् जनयुद्धलाई हिंसात्मक क्रियाकलापको रूपमा अर्थ्याएको उल्लेख गर्दै उहाँले यो शब्द फिर्ता नलिँदासम्म सांसदबाट प्रतिरोध जारी राख्ने बताए।  
जनयुद्धका महान् सहिदलाई सम्मान गर्ने सवालमा निरन्तर काम गरिरहेको पनि अध्यक्ष प्रचण्डले स्पष्ट गरे। पटक पटक सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकलकोले पछिल्लो पटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरू खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको र अब जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता प्राप्त गरेको जानकारी गराउँदै उनले भने, ‘यो हामी सबैका लागि खुसी र गर्वको विषय हो। छुटेकालाई पनि केन्द्रित गर्ने प्रक्रिया त्यसमा बाँकी राखिएको छ।’ यसबाट जनयुद्धका सदिहरु अब राष्ट्रिय सहिदको रूपमा अजर अमर बनेको उनले स्पष्ट गरे। 
त्यस्तै, जनयुद्ध थालनी भएको दिन फागुन १ गतेको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने मन्त्रिपरिषद्बाट निर्णय गरिएको भए पनि शान्ति प्रक्रिया अझै नटुङ्गिएको भनेर अदालतबाट रोकिएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब टिआरसी विधेयक पारित भएपछि जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा स्थापित गर्न रोक्न नहुने र त्यसका लागि अदालतले पुनर्विचार गर्ने आफूले विश्वास लिएको बताए। उनले जनयुद्ध दिवसको ऐतिहासिकतालाई थप स्थापित गर्न यसलाई राष्ट्रिय दिवसको रूपमा मनाउन जनस्तरबाट दबाब सिर्जना गर्नुपर्ने बताए।
लामो प्रयासपछि शान्ति प्रक्रियासम्बन्धी प्रक्रिया अन्तिम चरणमा पुर्‍याइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफूले सरकारको नेतृत्व गरेको बेला अन्तिम समयमा सर्वदलीय बैठकमार्फत टिआरसी टुङ्ग्याउन कार्यदल बनाएको र कार्यदलले जुटाएको सहमतिका आधारमा टिआरसी कानुन बनिसकाले अब आफूहरुको ध्यान आयोगहरु बनाउनेतर्फ केन्द्रित रहेको बताए। 
आयोग बनाउने र आयोगमा सही नेतृत्व ल्याएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याएपछि सहिद तथा बेपत्ताहरूको राष्ट्रिय सम्मान र परिवारलाई परिपूरणको बाटो खुल्ने बताए। अब यसो भएन उसो भएन भनेर भन्दा पनि भएका निर्णय कार्यान्वयन गरेर सहिद तथा बेपत्ता यौद्धाहरुको सम्मानका लागि जुट्नुपर्ने बेला आएको उनले बताए। 
अध्यक्ष प्रचण्डले अहिले सहिद प्रतिष्ठान नेपाल महान् सहिदहरुलाई सम्मान गर्ने र सहिदका सपना पूरा गर्ने माओवादी घटकहरुको साझा मञ्चको रूपमा रहेकाले यो अन्य संस्था र प्रतिष्ठानभन्दा फरक रहेको बताए। 
अहिले देशब्यापीरुपमा सहिद प्रतिष्ठानमार्फत सञ्चालित पाँच वटा विद्यालयमा सहिदका सन्तानलाई पठनपाठन गराइरहेको उल्लेख गर्दै उनले यो जनयुद्धको सम्मानका लागि महत्त्वपूर्ण काम भएको बताए। 
प्रतिष्ठानको कार्यक्षेत्र विस्तार गरेर कृषि, उत्पादनलगायतका अन्य काम पनि गर्ने गरी साधारणसभाबाट नीति पारित गर्न पनि उनले आग्रह गरे।  प्रतिष्ठानले प्रदेश र जिल्ला जिल्लामा शाखा खोलेर काम थालेकोमा पनि उनले खुसी व्यक्त गरे।