नेपाली काङ्ग्रेसको पदाधिकारी बैठकले उपसभामुखले आफैँले बुझेर राजीनामा दिनुपर्ने धारणा राखेको छ। 

बुधवार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले उपसभामुखले गरेको कामले संसद र मुलुकको शिर झुकाएको भन्दै राजीनामा दिनुपर्ने धारणा राखेको पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन्। 

उनले भने, ‘काङ्ग्रेसको आधिकारिक धारणा भनेको उपसभामुखले आफैँले बुझेर राजीनामा दिनु राम्रो हुन्छ। उहाँमाथि गम्भीर प्रश्न उठेको छ। यो चानचुने कुरा होइन। अर्को देशको राजदूतावाससँगको सम्बन्धका विषयलाई लिएर उहाँले गर्नै नहुने काम उपसभामुखले कुनै पनि हालतमा लेखेर कुटनैतिक योगलाई त्यस्तो खालको सिफारिस गर्नै मिल्दैन। यो कामले संसदलाई नै अपमानित गरेको छ भन्ने हाम्रो भनाई छ। यो विषय गम्भीर छ, यसले मुलुकको शिर पनि झुकाएको छ। भन्ने काङ्ग्रेसको भनाइ छ।’ 

उनले संसदको उपसभामुख जस्तो पदमा बसेर अनुचित काम गरेर कुरामा दुविधा नरहेको भन्दै यसबारेमा छलफल भएको बताए। 

यसबारेमा कसरी जाने भन्ने कुरामा सत्तारुढ दलहरुबीच पनि छलफल गरेर साझा धारणा बनाएर अगाडि बढ्ने पनि उनको भनाइ छ। 

साथै, उनले बैठकमा पार्टीभित्र कै भातृ संस्थाका निर्देशक समितिहरु बनाउने र अन्य पार्टीका आन्तरिक विषयहरुको बारेमा छलफल भएको पनि बताए।