कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले मंगलबारबाट सुरु गरेको आमरण अनशन जारी रहेको छ।

विराटनगरको देवकोटा चोकमा दोस्रो दिन बुधबार पनि अनशन जारी रहेको हो। कार्कीले केही समर्थको साथमा अनशनलाई निरन्तरता दिएका छन्। प्रदेशसभा सचिवालयको गेटअगाडि उत्तरतर्फ बनसखण्डी महादेव मन्दिरनजिक निषेधित क्षेत्रभित्र आमरण अनशन सुरु गरेका उनलाई मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरीले नियन्त्रणमा लिएर गाडीमा राख्दै उनलाई बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीस्थित घरमा लगेर छाडे पनि पुनः फर्किएर आएका उनले निषेधित क्षेत्रभन्दा बाहिर अनशन सुरु गरेका थिए।

निषेधित क्षेत्रको अनशन हटाउने क्रममा कार्कीका समर्थक र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियो। झडपका क्रममा नियन्त्रणमा लिइएका १५ जना समर्थकलाई प्रहरीले राति नै छाडिदिएको छ।

निषेधित क्षेत्रबाट हट्नका लागि ‘माइकिङ’ गरेर आग्रह गर्दा पनि नमानेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो। अहिले पनि अनशनस्थल वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ। कार्कीको अनशनमा नेपाली कांग्रेसको डा। शेखर कोइराला पक्षधर प्रदेश सांसद तथा नेता कार्यकर्ताले साथ दिएका छन्।