नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र हिमालयन ट्याटु समिटको सहकार्यमा ट्याटु वर्कसप तथा ट्याटु सेमिनार हुने भएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा भदौ २५ र २६ गते दुइ दिन गरेर ट्याटु वर्कसप तथा ट्याटु सेमिनार हुन लागेको हो। 

सोही क्रममा मंगलबार भएको कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकला प्रज्ञा–प्रतिष्ठानले ट्याटुलाई पनि कलाको एउटा उपविधाको रुपमा स्वीकार गरेको बताएका छन्। 

उनले भने, ‘यो भन्दा अगाडि कार्टुनलाई प्रवेश गराएका थियौँ। अहिले ट्याटुसँग जोडिएका छौँ। प्रतिष्ठानले पनि यो विधालाई पनि कलाको एउटा उपविधा हो भनेर स्वीकार गरेका छौँ। सामाजिक रुपान्तरणमा यसलाई पनि जोड्न सकिन्छ। त्यसकारण यो विधालाई पनि बाहिर ल्याउनुपर्छ। कुनैपनि प्रकारको क्षमता लुक्न हुदैँन भनेर यो विधालाई स्वीकार गरेका हौँ।’

यसको साथै, उनले ट्याटुले समाजमा भोलि समस्या ल्याउँछ भन्ने खालको हल्ला रहेको भन्दै त्यो चुनौतीको सामना गर्न र त्यसलाई चिर्नको लागि पनि यसलाई प्रवेश गराएको बताए। 

उनले भने, ‘ट्याटुलाई समाजले राम्रो नजरले हेरेको छैन। यसले समाजमा भोलि समस्या लिएर आउँछ। कलाको क्षेत्रमा यसलाई प्रवेश गराउनु हुदैँन भन्ने खालको हल्ला छ। त्यो चुनौतीको सामना गर्न र त्यसलाई चिर्नको लागि प्रवेश गराएका हौँ। यो पनि कला त हो यसलाई सामाजिक रुपमा नल्याउने हो भने यो क्षेत्र त पछाडी नै पर्छ।’ 

उनले नेपाल सरकार र समाजले सबैको लागि एउटा दायर बनाएको भन्दै दायरामा बसेर नै काम गर्न पनि सबैलाई आग्रह गरेका छन्।