बुद्ध एयरले १६ वर्षअघि भित्र्याएको एटीआर ४२ जहाजलाई मङ्गलवार बिदाइ गरेको छ।
७० हजार उडान साइकल पूरा गरेसँगै एन–एआइएन कलसाइन नम्बरको जहाजलाई कमर्सियल उडानबाट बिदाइ गरेको हो।
१६ वर्ष ३ दिन उडानका दौरानमा यस जहाजले अठार लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको छ। 
बुद्ध एयरले सन् २००८ मा आइएफसीको ऋण सहयोगमा दुई वटा एटिआर–४२–३२० जहाज भित्र्याएको थियो। 
उसले आईएफसीकै ऋण सहयोगमा ह्यांगरको निर्माण पनि थालेको थियो। विगत १६ वर्षमा बुद्ध एयरले १९ वटा एटीआर जहाजहरु भित्र्याइसकेको छ। बुद्ध एयर एटिआर अपरेटरतर्फ संसारकै सातौँ ठुलो एयरलाइन्स कम्पनी बन्न पुगेका छ।
एटिआरले अहिलेसम्म हजारौँ जहाजको निर्माण गरिसकेको छ। एटीआर जहाजको पूर्ण सञ्चालन अवधि पार गरि यसरी बिदाइ गर्न लागेको संसारमै आज पहिलो पटक हो।
आजको बिदाइ कार्यक्रममा ‘एटिआर विमानहरुको मर्मत सम्भार र उडान सञ्चालनमा बुद्ध एयरको टेक्निकल तथा अपरेसन टिम विकसित राष्ट्रकोभन्दा कम नरहेको बरु अब्बल रहेको’ बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले बताए।