मोरङ कारागारमा रहेका एक कैदीको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको छ। बेलबारी नगरपालिका–४ घर भएका ३४ वर्षीय मनिकुमार तामाङको आइतबार बिहान मृत्यु भएको हो।
जिल्ला कारागार मोरङका जेलर चेतराज बरालका अनुसार तामाङविरुद्ध पाँच वटा जिल्ला अदालतमा मुद्दा चलिरहेको छ। एउटा मुद्दा भने किनारा लागेको थियो।
खुट्टा सुन्निने र मुटु सम्बन्धी समस्या भएका उनलाई उपचारका लागि २० भदौको साँझ कोशी अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो।
मोटरसाइकल चोरीको आरोप लागेका तामाङविरुद्ध मोरङ, झापा, सुनसरी, इलाम र धनकुटामा चोरीको कसूरमा मुद्दा विचाराधीन थियो।
मोरङ जिल्ला अदालतमा दर्ता भएको दुई मुद्दामध्ये एउटा मुद्दामा ४ महिना कैद र १५ हजार रूपैयाँ र अर्को मुद्दामा १ लाख रूपैयाँ धरौटी माग भएको थियो। धरौटीबापतको रकम बुझाउन नसकेपछि तामाङ २०८० माघ २१ गतेदेखि मोरङ कारागारमा थिए।