सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। इटहरीको प्रमुख धार्मिकस्थलमा पर्यटकलाई आतङ्कित पारी लुटपाट गर्ने सात जनाको समूहलाई शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो।

झापा बाह्रदशी गाउँपालिका–३ राजगढका २२ वर्षीय अमन भगत र २३ वर्षीय निखिल भगतलाई तालतलैया घुम्न पुगेको समयमा बाटो छेकेर चक्कु देखाउँदै दुई लाख लुटपाट गरी फरार भएका थिए। उक्त घटना सम्बन्धमा पीडितले इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिएपछि लुटपाटमा संलग्नलाई खोजी गरी पक्राउ गरिएको हो। 

प्रहरीका अनुसार रामधुनी नगरपालिका–३ को २२ वर्षीय अनिस कोइराला र १९ वर्षीय शुसन थापा पक्राउ परेका छन्। त्यसैगरी इटहरी उपमहानगरपालिका–४ को २४ वर्षीय विशाल तामाङ, १८ वर्षीय सुनिल बस्नेत र १८ वर्षीय निश्चल बस्नेत एवं सोही नगर वडा नं ७ का १८ वर्षीय साकार भण्डारी र वडा नम्बर १६ का १८ वर्षीय रिचन खत्री पक्राउ परेका छन्।

उनीहरूको साथबाट रु तीन लाख दुई सय ५५ रुपैयाँ नगदसहित चक्कु, ओकेटोके हेण्ड सेट र मोबाइल बरामद गरिएको छ। पक्राउ परेका सातै जनालाई सुनसरी जिल्ला अदालतमा पेस गरी पाँच दिनको म्याद थप गरेर इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।