पाँचथरको फालेलुङ गाउँपालिका-५ डाँडागाउँमा बम विस्फोटमा परी घाइते भएका बालकहरुलाई अधिकारकर्मीको पहलमा उपचारका लागि काठमाडौं पठाइएको छ। बम विस्फोटमा घाइते भएका पवन राई र दिप्सन राईलाई काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको हो।
यसअघि बम विष्फोटमा घाइते भएका पवन राई र दिप्सन राईलाई उपचार गर्न कोशी अस्पताल र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। ती अस्पतालले काठमाडौँ जान भने पनि उपचार खर्च अभावमा अभिभावकले फर्काएर फिदिममै लगेका थिए। गम्भीर अवस्थाका दिप्सनलाई पाँचथर जिल्ला अस्पतालमा र पवनलाई डेरामा राखिएको थियो।
मंगलबार अनुगमनका लागि पुगेको अधिकारकर्मीको टोलीले उनीहरुलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पठाएका हुन्।
गत बिहीबार फालेलुङ गाउँपालिकाको डाडागाउँमा द्वन्द्वकालको ह्यान्डमेड सकेट बम विष्फोट हुँदा ११ वर्षीय दिप्सन सावा र अढाई वर्षीया प्रिन्सा सावाको मृत्यु भएको थियो। उनीहरु दाजु-बहिनी हुन्।
बम विष्फोटमा बालक पवन राई र दिप्सन राई घाइते भएका थिए। घाइतेमध्ये दिप्सनको अवस्था गम्भीर छ। तर उनीहरुको उपचारमा प्रदेश र संघीय सरकारले चासो दिएको छैन।