मोरङको लेटाङ्ग नगरपालिका–३ मा रहेको दीर्घायु लेटाङ्ग फार्मेसीको लापरबाहीले एक महिलाको मृत्यु भएको आरोप लागेको छ।

फार्मेसीमा उपचारका लागि ल्याइएकी लेटाङ्ग–७ वारंगिकी ३३ वर्षीया गोमा लिम्बूको दिउँसो मृत्यु भएको हो।

सिकिस्त अवस्थाकी उनलाई उपचारका लागि दिउँसो १ः३० बजेतिर फार्मेसीमा ल्याइएको थियो। फार्मेसीले अवस्था गम्भीर रहेको भनेर थप उपचारका लागि विराटनगर रेफर गर्यो।

विराटनगरतर्फ लग्ने क्रममा बीच बाटैमा मृत्यु भएपछि लिम्बूको शव फार्मेसीअगाडि राखेर आफन्त र स्थानीयले फार्मेसीले लगाइदिएको सुईका कारण महिलाको मृत्यु भएको आरोप लगाउँदै शव जिम्मा नलिने अडान राखेर नाराबाजी गरिरहेका छन्। 

फार्मेसी आसपासमा अहिले करिब सय जनाजति स्थानीय भेला भएका छन्। स्थानीयका अनुसार मृतक गोमाका पति आइतबहादुर लिम्बू वैदेशिक रोजगारीमा छन्।