नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल) मा कुल आठ टिमले प्रतिस्पर्धा गर्ने भएका छन्। बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले लिगमा आठ फ्रेन्चाइज टिम समावेश गर्ने निर्णय गरेको हो।
यसअघि क्यानले टिमको फ्रेन्चाइजी लिन खुलाएको आवेदनको १८ वटा फारम बिक्री भए पनि १६ टिमले निवदेन दिएका थिए।
नेपालमा आयोजना हुन लागेको कुनै पनि फ्रेन्जाइजी लिगमा आठ टिमले प्रतिस्पर्धा गर्न लागेको यो पहिलोपटक हो।
यसअघि, क्यानकै आयोजनामा भएको नेपाल टी–२० मा र निजी क्षेत्रबाट आयोजना भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल), धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरा प्रिमियर लिग (पीपीएल) मा समान ६ टिमले प्रतिस्पर्धा गरेका थिए।
क्यानले एनपीएलका लागि मंंसिर १५ गतेदेखि पुस ६ गतेसम्मको आयोजना मिति छुट्याएको छ।