संघीय संसद्अन्तर्गत आज सातवटा संसदीय समितिको बैठक बस्दैछ।
संघीय संसद् सचविालयका अनुसार आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, अनुगमन तथा मूल्यांकन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ।
अर्थ समितिको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफल हुनेछ। त्यसका लागि बिहान नौ बजे बैठक बोलाइएको छ।
त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठक बिहान साढे ११ बजे बस्नेछ।
बैठकमा तयारी पोशाक निर्यातमा देखिएका नीतिगत समस्याका सम्बन्धमा नेपाल तयारी पोशाक उद्योग संघका प्रतिनिधिहरूसँग छलफल संघीय संसद् सचिवालयले जनाएको छ।
त्यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो २ बजे बस्दै छ। बैठकमा वन तथा वातावरण मन्त्रालयबाट यस आर्थिक वर्षमा सम्पादन हुने कार्यक्रम, कार्यसम्पादनमा रहेका समस्या र मन्त्रालयको बजेटका विषयमा छलफल हुनेछ।
निर्माण सम्पन्न भइसकेका विभिन्न हाइड्रोपावरको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको स्वीकृतिमा देखिएका समस्या र रोल्पा जिल्ला परिवर्तन गाउँपालिकामा भोग चलनमा रहेको आवादी जग्गा दर्ता गर्ने क्रममा देखिएको समस्याका सम्बन्धमा छलफल गर्ने कार्यसूची।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा उपसमितिको प्रतिवेदन पेस गरी त्यसमा छलफल हुनेछ। बैठक दिउँसो ३ बजे बस्नेछ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।