अखिल नेपाल फुटबल सङ्घ एन्फाको सातौँ कार्यसमितिको बैठकले सरकारसँग सुविधा सम्पन्न रङ्गशाला बनाउनका लागि जग्गा माग गर्ने निर्णय गरेको छ।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको अध्यक्षमा दुई दिनसम्म बसेको बैठकले करिब २५ देखि ४० हजार दर्शक क्षमता भएको सुविधा सम्पन्न आधुनिक र अन्तर्राष्ट्रिय मापदण्ड सहितको फुटबल रङ्गशाला निर्माण गर्न अति आवश्यक देखिएकोले नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीलाई जग्गा उपलब्धताको लागि अनुरोध गर्ने निर्णय गरिएको हो।
यसैगरी, नयाँ रंगाशाला निर्माण गर्न २२,००,००० अमेरिकी डलर विनियोजन गर्ने र उक्त रङ्गशाला निर्माणार्थ जग्गा प्राप्तिको लागि सरकारसँग समन्वय गर्न सङ्घका उपाध्यक्ष दीपक खतिवडाको संयोजकत्वमा उपाध्यक्ष दावा लामा र कार्यसमिति सदस्य मनिष जोशी सदस्य रहने गरी तीन सदस्य समिति गठन पनि गरिएको छ। यसैगरी, साथै दशरथ रङ्गशाला सङ्घबाटै रेखदेख, संरक्षण, मर्मत तथा परिचालनका लागि नेपाल सरकार युवा तथा खेलकुद मन्त्रीज्यू र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवसँग माग गर्ने निर्णय गरिएको बैठक पछि जारी विज्ञप्तिमा जनाइएको छ।
दशरथ रंंगशालाको मैदान मर्मतको लागि ३००,००० अमेरिकी डलर विनियोजन गर्ने निर्णय गरिएको छ।
खेलाडीलाई पुरस्कृत
महिला तथा पुरुष तर्फको उत्कृष्ट खेलाडी घोषणा गरी प्रोत्साहन स्वरूप कारबाट पुरस्कृत गर्ने तथा उत्कृष्ट रेफ्रि र प्रशिक्षकलाई जनही रु.२,००,००० (दुई लाख रुपैयाँ) र मोटर साईकलरस्कुटरबाट र लाईफ टाइम एचिभमेन्ट अवार्ड र.५,००,०००। (पाँच लाख रुपैयाँ) र मोटर साईकल / स्कुटरबाट पुरस्कृत गर्ने निर्णय गरियो। उत्कृष्ट खेलाडी, रेफ्रि तथा प्रशिक्षक छनौट गर्न निम्न अनुसार छनौट समिति गठन गर्ने निर्णय गराएको छ। समितिको संयोजकमा पुरुषोत्तम थापा छन् भने सदस्यहरूमा हरि खड्का र सञ्जीव मिश्र रहेका छन्।
बजेट विनियोजन
बी डिभिजन लिगका लागि आवश्यक रकम रु ३,९५,८६,५८१।९८ मध्ये १,४८,३५८ अमेरिकी डलर फिफा फरवार्ड २।० शीर्षकबाट खर्च गर्ने निर्णय गरिएको छ।
महिला लिग तथा छनौट फुटबल प्रतियोगिता ९तीन संस्करण० सञ्चालन गर्न ६,९८,१८१ अमेरिकी डलर
ग्रास रुट कार्यक्रम सञ्चालन गर्न १,९६,११० अमेरिकी डलर विद्यालय स्तरको छात्र तथा छात्रा आगामी दुई संस्करणको फुटबल प्रतियोगिता सञ्चालन गर्न २६०,००० अमेरिकी डलर, एन्फा कम्प्लेक्सको खेल मैदानमा प्रो टर्फ तथा लाईट जडानका निम्ति २,६४,७१३ अमेरिकी डलर, गोदावारी नगरपालिकामा रहेको खेल मैदान निर्माण गर्न १,००,००० अमेरिकी डलर, काभ्रे जिल्लामा धुलिखेल नगरपालिकाको फुटबल खेल मैदान निर्माण गर्न १,००,००० अमेरिकी डलर पूर्वाधार निर्माण गर्न आवश्यक धादिङ, मकवानपुर, जुम्ला लगायतका अन्य कागजात पुरा गर्ने जिल्लाहरूमा ५,००,००० अमेरिकी डलर खर्च गरिने छ।
यस्तै,राष्ट्रिय खेलाडीहरूलाई आवागमनको लागि सुविधा सम्पन्न सटल बस खरिद गर्न १,००,००० अमेरिकी डलर, विभिन्न खेलकुद सामग्रीहरू खरिद गर्न ३,००,००० अमेरिकी डलर, लगेज डेलिभरी भ्यान खरिद गर्न २५,००० अमेरिकी डलर, सिन्धुपाल्चोक जिल्लामा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न १००,००० अमेरिकी डलर,सप्तरी जिल्लामा फुटबल खेल मैदान निर्माण गर्न १००,००० अमेरिकी डलर, कैलाली जिल्लामा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न १००,००० अमेरिकी डलर, बुद्धि विकास खेल मैदान तथा भौतिक पूर्वाधार निर्माण फुटबल खेल मैदान स्तरोन्नति गर्न ३३,४०६ अमेरिकी डलर, धरान, रौतहट, बुटवल एकेडेमी मर्मत तथा फर्निसिङ्गको निम्ति २६,५३७ अमेरिकी डलर छुट्टाएको छ।
कर्णाली प्रदेश फुटबल सङ्घ
कर्णाली प्रदेश फुटबल सङ्घमा विधान अनुसार प्रमोद हमालको अध्यक्षतामा तदर्थ समिति गठन गर्ने निर्णय गरिएको छ।
नयाँ सदस्यता थप गर्न अनुरोध अनुसार कपिलवस्तु जिल्ला फुटबल सङ्घ तिलक थापाको अध्यक्षतामा तदर्थ समिति गठन गरी आगामी सङ्घका साधारण सभाबाट अनुमोदन गर्ने निर्णय गरिएको छ।
एन्फाका महासचिव किरण राईको पारिश्रमिक २,००० अमेरिकी डलर कायम गरिएको छ। यो प्रस्ताव बहुमतबाट पास भएको बुझिएको छ।
महिला तथा पुरुष राष्ट्रिय टिमका फुटबल खेलाडीहरूलाई मासिक भत्ता बापत जनही रु.३०,०००, फिफा रेफ्रिहरुलाई मासिक रु. २०,००० कायम गर्ने निर्णय गरिएको छ।
राष्ट्रिय टिमका महिला तथा पुरुष खेलाडीहरूका साथै उमेर समूहका राष्ट्रिय खेलाडीहरू, रेफ्रिहरु, एन्फाका पदाधिकारीहरू तथा सचिवालयका कर्मचारीहरूको स्वास्थ्य बिमा गर्ने निर्णय गरियो।
वर्तमान मुख्य प्रशिक्षकको सम्झौता अघि नबढाउने सहमतिभएसँगै पुरुष राष्ट्रिय फुटबल टिममा प्रो लाइसेन्सप्राप्त प्रशिक्षकको नियुक्ति प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ।
महिला साफ च्याम्पियनसिप २०२४ फुटबल प्रतियोगिता काठमाण्डौको दशरथ रङ्गशालामा यही अक्टोबर १७ देखि ३० सम्म सञ्चालन गर्ने निर्णय गरिएको छ।
अखिल नेपाल फुटबल सङ्घले यसै वर्ष देखि आगामी तीन वर्ष सम्म देशव्यापी रूपमा ग्रास रुट कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। एन्फा महिला लिग २०८१ भाद्र १६ गते दशरथ रंगशलामा उद्घाटन गर्ने र सो प्रतियोगिताको सञ्चालन गर्न सरिला श्रेष्ठ संयोजक रहेको समिति बनाइएको छ। सदस्यहरूमा सन्त थापा मगर र वृन्दा देवान रहेका छन्।
कात्तिक १ बाट सञ्चालन हुने एन्फा यु–१६ युथ लिगको बजेट १२,३६,३३० र २०८१ असार ३० बाट जारी भएको ललित स्मृति एन्फा यु–१८ युथ लिगको रु ६८,०९,७०० बजेट पारित गरिएको छ।
त्यसैगरी कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकाको भेडाबारीको टेक्निकल सेन्टर र रौतहटको चन्द्रनिगाहपुरको महिला एकेडेमीमा कानुनी विवाद समाधानको लागि सङ्घका वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्का संयोजक रहने गरी सहायक महासचिवद्धय दामोदर भट्टराई र अरुणमान जोशी र प्रवक्ता सुरेश शाह सदस्य रहने गरी कमिटी गठन गरेको छ।