पाँचथरको फालेलुङ गाउँपालिका–५, डाँडागाउँमा हिजो भएको विस्फोटमा परी घाइतेमध्ये दुई बालबालिकाको मृत्यु भएको छ।
घटनामा घाइते दिलीप साँवाकी अढाई वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार प्रिन्साको उपचारका लागि लैजाने क्रममा बाटैमा र दिप्सनको इलाममा उपचारको क्रममा मृत्यु भएको हो।
स्थानीय आइतराज केरुङको घरमा हिजो भएको विस्फोटमा चारजना बालबालिका घाइते भएका थिए। ज्ञानबहादुर राईका ९ वर्षीय छोरा पवन र अर्का एक बालकको अवस्था सामान्य रहेको बताइएको छ।
प्रहरीका अनुसार ग्रिनेडजस्तो देखिने वस्तु विस्फोट भएको थियो। यसबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।