गृह मन्त्रालयले मस्र्याङ्गदीमा भएको बस दुर्घटनाको बारेमा भारतका युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई ब्रिफिङ गरेको छ।
शनिबार गृह मन्त्रालयमा दुर्घटनाबाट भएको क्षति, उद्धार तथा घाइतेहरूको उपचारबारे राज्यमन्त्रीलाई जानकारी गराइएको हो।
सोही क्रममा गृहमन्त्री रमेश लेखकले घाइतेहरूको उपचार उचित तरिकाले भइरहेको बताएका छन्।
उनले भने,‘भारतबाट आएका पर्यटकहरुको दुर्घटनामा पर्नुभयो। दुर्घटनामा पर्नेहरु भारतका युवा तथा खेलकुद राज्यमन्त्री खड्सेको निर्वाचन क्षेत्रका रहेछन्। उद्धार र उपचारका लागि गरिएको प्रयासको प्रशंसा गर्नुभयो।’
शुक्रबार भारतीय नम्बर प्लेट भएको बस मर्स्याङ्दी नदीमा खसेर ठुलो दुर्घटना भएको थियो। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो।
सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो। बसमा सवार सबै यात्रु महाराष्ट्रका थिए र उत्तर प्रदेशबाट बसमा नेपाल प्रवेश गरेका थिए।