पश्चिम जर्मनीको सोलिङ्गेनमा शुक्रबार राति भएको एक कार्यक्रममा छुरा प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ। ९ जना घाइते भएका छन्। 

जसमध्ये ४ जनाको अवस्था चिन्ताजनक छ। सोलिङ्गेन सहरले आफ्नो स्थापनाको ६५० वर्षगाठ मनाउँदै थियो।

सोलिङ्गेन सहरका मेयरले आक्रमण फ्रानहोफ स्क्वायरमा भएको बताए। कार्यक्रममा करिब १० हजार मानिसहरुको सहभागिता रहेको थियो। लाइभ ब्यान्ड चलिरहेका बेला एक व्यक्तिले भीडमा रहेका मानिसहरूलाई राति १० बजे आक्रमण गरेका थिए।

सोलिङ्गेनको जनसंख्या १ लाख ५९ हजार छ। यो जर्मनीको सबैभन्दा बढी आवादी भएको राज्य उत्तर राइन–वेस्टफालिया राज्यमा छ।

घाइतेलाई अस्पताल लैजानेसँगै प्रहरीले ३ दिनसम्म चल्ने कार्यक्रम पनि रद्द गरेको छ। यससँगै प्रहरीले सर्वसाधारणलाई उक्त क्षेत्र खाली गर्न आग्रह गरेको छ। प्रहरीले अपरिचित आक्रमणकारीको खोजी कार्य सुरु गरेको छ। यसका लागि ४० वटा सवारी साधन परिचालन गरिएको छ। प्रहरीले हेलिकप्टरबाट पनि उनको खोजी गरिरहेको छ। नजिकैको सिसिटिभी फुटेज जाँच भइरहेको छ।

जर्मन प्रहरीले एक विज्ञप्ति जारी गर्दै आक्रमणमा चक्कु प्रयोग भएको पुष्टि गरेको छ। प्रहरीले अहिलेसम्म आक्रमणकारीको बारेमा निकै कम जानकारी रहेको बताएको छ।

तर, छुरा प्रहारको घटना एक्लो आक्रमणकारीले गराएको उनीहरुको अनुमान छ। जर्मन मिडियाका अनुसार आक्रमणकारीले मानिसहरुको घाँटीमा चक्कु प्रहार गरेको छ जसका कारण घाइतेहरुको अवस्था चिन्ताजनक रहेको छ।